काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटनाबारे सरकारसँग जवाफ माग गरेका हुन् । सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य पन्छिन नपाउने बताए । उनले कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति समेत प्रकट गरे । सांसद प्रसाईंले नागरिकको जीवनभन्दा ठूलो सम्पती र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए । उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे ।
कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भनी उनले प्रश्न गरे । नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईंले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको माग समेत गरे ।
प्रकाशित मिति २०८३ असार २२ गते सोमबार ०१:२२




