काठमाडौं ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानून चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वान हुन कठिन रहेको बताएका छन् ।
सोमबार निर्वाचन आयोगमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट अधिवेशनमा एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन रहेको बताएका छन् । बजेट अधिवेशनभित्रै कानून बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने उनको भनाइ छ । नयाँ निर्वाचन कानून ल्याएर इ–भोटिङ लगायतका मागहरु सम्बोधन गर्न सकिने उनले बताए । उनले आफू निर्वाचन आयोगमा हुँदा आयोगलाई कानूनी रूपमा स्पष्ट र दर्बिलो बनाउने काम गरेको जिकिर गरे । आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेश गरेको भएपनि पेश गरेको तीन वर्षभन्दा बढी हुँदा समेत संसदम पेश हुन नसकेको गुनासो गरे ।
अबको निर्वाचनको आयोगको गन्तव्य अझै पेचिलो रहेको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सबैलाई मिलाएर लैजानसक्ने नेतृत्व आयोगलाई आवश्यक रहेको बताए । भण्डारी ६५ वर्षे उमेरहदका कारण मंगलवारबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
प्रकाशित मिति २०८३ असार २३ गते मंगलबार ११:३७




