२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटनसँगै जैविक विविधता संरक्षणलाई प्राथमिकता

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटनसँगै जैविक विविधता संरक्षणलाई प्राथमिकता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २३ गते मंगलबार ०६:१८

उनका अनुसार संरक्षण क्षेत्रमा १ हजार ८५६ प्रजातिका वनस्पति, १२८ स्तनधारी, ५२३ प्रजातिका चरा तथा ३८४ प्रजातिका पुतली अभिलेख भएका छन् ।  नेपालमा पाइने हिमाली डाँफे समूहका सबै ६ प्रजातिका चरासमेत यही क्षेत्रमा पाइने उनले जानकारी दिए ।

पोखरा ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण, दिगो पर्यटन र स्थानीय समुदायको सहभागितामार्फत अन्नपूर्ण क्षेत्रलाई विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ ।

पोखरामा आयोजित अन्तरक्रियामा आयोजना प्रमुख डा. रबिन कडरियाले ७ हजार ६२९ वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र भएको जानकारी दिए ।

उनले संरक्षण क्षेत्रले जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याएको बताए ।

उनका अनुसार संरक्षण क्षेत्रमा १ हजार ८५६ प्रजातिका वनस्पति, १२८ स्तनधारी, ५२३ प्रजातिका चरा तथा ३८४ प्रजातिका पुतली अभिलेख भएका छन् ।  नेपालमा पाइने हिमाली डाँफे समूहका सबै ६ प्रजातिका चरासमेत यही क्षेत्रमा पाइने उनले जानकारी दिए ।

चालु आर्थिक वर्षको असार १५ सम्म संरक्षण क्षेत्रमा ४ लाख ८४ हजार ५७८ पर्यटक पुगेका छन् । पछिल्ला वर्षमा स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य रूपमा बढ्दै गएको आयोजनाले जनाएको छ ।

आयोजनाले पदमार्ग सुधार, फोहोर व्यवस्थापन, ई–परमिट प्रणाली, संरक्षण शिक्षा, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण, सामुदायिक वन व्यवस्थापन तथा स्थानीय आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

संरक्षण क्षेत्रमा ५७ संरक्षण क्षेत्र व्यवस्थापन समिति, १३३ वन व्यवस्थापन समिति, ३०४ महिला समूहलगायत करिब ९६९ स्थानीय संस्था संरक्षण अभियानमा सक्रिय रहेका छन् ।

कार्यक्रममा संरक्षण क्षेत्रमा बढ्दो पर्यटकीय चाप, फोहोर व्यवस्थापन, डढेलो, चोरी–सिकारी नियन्त्रण, जलवायु परिवर्तनका असर तथा पूर्वाधार विकासलाई संरक्षणमैत्री बनाउने चुनौतीबारे पनि छलफल गरिएको थियो ।

प्रकाशित मिति २०८३ असार २३ गते मंगलबार ०६:१८
हजुरको प्रतिक्रिया