२०८३ साउन २१ गते बिहीबार

सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड

सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २४ गते बुधबार ०४:५२

बैठकमा बोल्ने अधिकांश सांसदहरुले घरेलु हिंसा, बाल श्रम, शिक्षा र स्वास्थ्य सेवामा अवरोध तथा विभिन्न प्रकारका छुवाछुतको न्युनिकरण र मानव अधिकार हनन भएका पीडितहरूलाई न्याय दिने कुरामा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

पोखरा ।

प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनीहरुलले यस्तो बताएका हुन् । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुको उचित व्यवस्थापनमा उनीहरुको जोड छ ।

नेपाली काँग्रेसकी सांसद मनमाया विश्वकर्माले गत वर्ष साउनयता विभिन्न प्रकारका हिंसामा परी दलित समुदायका ११ जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको कार्यसम्पदान क्षमातामाथि प्रश्न उठाइन् ।

उनले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दामा दर्ता भएका उजुरी, अभियोजन, सजाय तथा पीडितले न्याय पाएको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगसँग विवरण समेत माग गरिन् ।

उनले प्रहरीले जातीय विभेदका उजुरीलाई सामाजिक मिलापत्रमार्फत टुंग्याउने अभ्यासप्रति प्रश्न उठाउँदै त्यस्ता घटनामा संलग्न प्रहरीमाथि आयोगले के–कस्तो कारबाहीको सिफारिस गरेको छ ? भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘गत वर्षको साउनदेखि अहिलेसम्म दलित समुदायका ११ जनाको मृत्यु भइसकेको छ । यसले मानव अधिकार कहाँ छ ? भनेर प्रश्न उठाएको छ । तपाईंहरुले जातीय भेदभाव तथा कसुर सजाय ऐनअन्तर्गत दर्ता भएका उजुरीहरु कति वटा अभियोजनमा पुगे ? कति दोषि भए र कति जना पीडितले न्याय पाए ? अनि प्रहरीले जातीय विभेदका उजुरीहरु सामाजिक रुपमा मिलापत्र गर्ने गरिएको छ । यस्ता कुरामा आयोगले कसरी चासो लिएको छ ? अनि दोषि प्रहरी कर्मचारीमाथि के कस्तो कारबाहीको सिफारिस गर्यो आयोगले ? गरेको छ कि छैन ?’

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई खाना वितरणसमेत रोकिएको भन्ने जानकारी आएको उल्लेख गर्दै भूमिहीन र उत्पीडित नागरिकलाई राज्यले आधारभुत अधिकारबाट वञ्चित गर्न नहुने बताइन् ।

उनले संविधानले प्रत्याभुत गरेको गाँस, बास र कपासको अधिकार कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले सुकुम्बासी नागरिकलाई होल्डिङ सेन्टरबाट समेत हटाउने कार्य भइरहेकोप्रति आपत्ति जनाइन् ।

उनले भनिन्, ‘हिजोदेखि होल्डिङ सेन्टरमा रहेका नागरिकलाई खाना समेत बन्द भयो भन्ने छ । गरिब हुनु, भूमिहीन हुनु, उत्पीडनमा पर्नु राज्यको लागि अभिशाप हो र ? उहाँहरुले गास, बास र कपासको आधारभूत अधिकार प्रयोग गर्न पाउने हो कि होइन ? संविधानका विभिन्न धाराहरुले यी सबै कुराको हक त हामीलाई दिएको छ नि त । यहाँ माननीयलाई डेरा नपाउने स्थिति रहेकामा सुुकुम्बासीलाई कसले डेरा दिन्छ ? त्यसकारण यस विषयमा आयोग र सरकारको गम्भीर ध्यान जाओस् ।’

समिति सभापति समीक्षा बास्कोटाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरोकारवाला पक्षसँग सहकार्य गर्दै ठोस रूपमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीका आधारमा सम्बन्धित निकायबीच समन्वय बढाएर मानव अधिकार संरक्षणका क्षेत्रमा प्रभावकारी काम गर्न समिति तयार रहेको समेत बताइन् । उनले सरकार र अन्य स्टेकहोल्डरसँग समेत सहकार्य गरेर टिआरसीको विषय टुंगोमा पु¥याउने विषयमा सरकार गम्भीर रहेको बताइन् ।

उनले भनिन्, ‘शान्ती सम्झौता, मेलमिलाप र विशेषगरी संक्रमणकालीन न्यायको विषय हामीले स्टेक होल्डरहरुसँग समेत सहकार्य गरेर ठोस काम गर्न खोजेका छौँ । यो विषयमा मानव अधिकार आयोगमा परेका विभिन्न उजुरीहरुको आधारमा हामीले सहकार्य गरेर जानुपर्छ जस्तो लाग्छ । मानव अधिारको क्षेत्रमा आजसम्म खासै उपलब्धी भएन भन्ने आयो ठिक छ । अगामी दिनमा हामी कसरी सहकार्य गरेर जाने हो ?’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले घरेलु हिंसा, बाल श्रम, शिक्षा र स्वास्थ्य सेवामा अवरोध तथा विभिन्न प्रकारका छुवाछुतको न्युनिकरण र मानव अधिकार हनन भएका पीडितहरूलाई न्याय दिने कुरामा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति २०८३ असार २४ गते बुधबार ०४:५२
हजुरको प्रतिक्रिया