काठमाडौं ।
सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको जीवन रक्षाका लागि कुनै कसर बाँकि नराख्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा सञ्चारकर्मीमाझ उनले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेको घटनामा जटिल अवस्थामा वीर अस्पतालमा उपचाररत उनको जीवनको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका हुन् । उनले उनको विदेशमा लगेर भएपनि जीवन बचाउनका लागि सबै खालको शक्ति परिचालन गर्नुपर्ने बताए । बिहीवार त्रिपुरेश्वरमा सरकारको पक्षबाट महानगर प्रहरीले बाइकमा ह्विल लक लगाएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । सभापति खडकाले सरकारले यस्तो घटना अब आइन्दा हुन नदिन पनि गम्भिर भएर सोच्न सरकार र संवद्ध सबै पक्षलाई सचेत गराए । उनले नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।
त्यस अवसरमा सभापति खड्काले राज्यप्रति भरोसा नभएपछि नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै यस घटनामा सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सम्वद्ध सबै पक्ष सचेत हुनुपर्ने पनि बताए ।
प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार १२:३९




