पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) मा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् ।
‘मिडिया र जनसम्पर्क’ विषयअन्तर्गत आयोजना गरिएको कार्यक्रममा दुई वटा सेक्सनका ६९ विद्यार्थीलाई ६ समूहमा विभाजन गरी समसामयिक विषयमा पत्रकार सम्मेलनको अभ्यास गराइएको हो ।
विद्यार्थीहरूले फ्लाइ दुबईले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने, पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव आयोजना गरेको, पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला सञ्चालन गरेको, पसल डट कमले सेवा विस्तार गरेको, साइमेक्स इन्कर्पोरेसनको विद्युतीय सवारी आयातसम्बन्धी विषय तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको जस्ता काल्पनिक तथा समसामयिक विषयमा पत्रकार सम्मेलनको अभ्यास गरेका थिए ।
क्याम्पस प्रमुख लीना नेगी श्रेष्ठले यस्ता प्रयोगात्मक कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक जीवनका लागि आवश्यक सञ्चार तथा नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने बताइन् ।
दिवा कार्यक्रम संयोजक सरोज कुँवरका अनुसार अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले यस अभ्यासमार्फत सञ्चारमाध्यमसँग समन्वय गर्ने व्यवहारिक सीप हासिल गरेको बताए ।
विषय शिक्षक सुवास मल्लले पत्रकार सम्मेलन सञ्चालन, सञ्चारमाध्यमसँग प्रभावकारी सम्बन्ध विस्तार तथा प्रेस विज्ञप्ति तयार गर्ने प्रक्रिया विद्यार्थीहरूले प्रत्यक्ष अभ्यासबाट सिकेको जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरूको प्रस्तुति मूल्याङ्कन गर्दै आवश्यक सुझाव दिएका थिए ।
सहभागी विद्यार्थीहरूले अनुभवी पत्रकारबाट प्रत्यक्ष पृष्ठपोषण प्राप्त गर्दा वास्तविक कार्यक्षेत्रको अनुभव हासिल भएको बताएका थिए ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पोखरा कलेज अफ म्यानेजमेन्टले दुई दशकभन्दा बढी समयदेखि व्यवस्थापन शिक्षामा अध्यापन गराउँदै आएको छ ।
हाल कलेजमा बीबीए, बीबीए–फाइनान्स र बीसीएसआईटी कार्यक्रममा दिवा तथा बिहानी सत्र गरी ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलजेले जनाएको छ ।
प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार ०४:२५




