पोखरा ।
एमबीबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरुले स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको छन् ।
एमबीबीएस तथा बिडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिबार चिकित्सकहरुले प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका सह–संयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभई इन्टर्न चिकित्सकहरूको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिएको बताए ।
उनले शिक्षा मन्त्रालयले इन्टर्न मेडिकल अफिसरको स्टाइपेन्ड ७५ प्रतिशत पु¥याउने निर्णय गरेको बताए ।
मन्त्रालयले उक्त विषयमा अध्ययन समिति नै गठन गरी निर्णय गरेको भएपनि चिकित्सा शिक्षा आयोगको पूर्ण बैठक नबस्दा हालसम्म निर्णय कार्यान्वयन हुन नसकेको जानकारी दिए ।
उनले मन्त्रालयबाट निर्णय भएर आएको कुरा कार्यान्वयन नभएपछि आन्दोलन बाध्यता बनेको बताए । सरकारले छिटोभन्दा छिटो आयोगको पूर्ण बैठक बोलाई इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय अनुमोदन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
जायज माग पूरा भए आन्दोलन अन्त्य गरी अस्पताल फर्केर बिरामीको सेवा गर्न आफूहरु तयार रहेको उनको भनाई छ । अधिकार स्थापित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने उनले बताए ।
नेपाल मेडिकल एशोसिएशनको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मेडिकल विद्यार्थी तथा इन्टर्न चिकित्सकहरूको मागका विषयमा संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको उनले आरोप लगाए ।
एसोसिएसनले निजी मेडिकल कलेजको भन्दा पनि चिकित्सक र मेडिकल विद्यार्थीको हितलाई प्राथमिकता राख्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘हामी यहाँ कसैको रहरले आएका हैनौँ । आज हामी यहाँ प्रत्येक कुनै पनि व्यक्तिगत स्वार्थका लागि उभिएका हैनौँ । हामी यहाँ आफ्नो श्रमको सम्मान, आफ्नो अधिकार सुनिश्चितता र भविष्यका लागि मेडिकल विद्यार्थीहरुको भविष्य सुरक्षित गर्नका लागि उभिएका हौँ । हाम्रो माग जायज भएकैले तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठज्युले गम्भीरतापूर्वक हाम्रो मागलाई लिई समिति गठन गर्न लगाउनु भयो, अध्ययन गर्नुभयो । इन्टर्न मेडिकल अफिसरको तलब ७५ प्रतिशत पु¥याउने भन्ने निर्णय गरि समितिबाट मन्त्रालय पु¥याउनुभयो । तर दुर्भाग्यवश, एमइसीको पूरा मिटिङ नबस्दा त्यो निर्णय कागजमै सिमित भयो । जब निर्णय भएर पनि कार्यान्वयन हुँदैन, तब आन्दोलन विकल्प होइन, बाध्यता हुन जान्छ । त्यसैले हामी आज न्यायको माग गर्दै बाध्य भएर यहाँ उभिएका छौँ, कुनै रहरले उभिएका छैनौँ । साथीहरु, एउटा कुरा याद राख्नुहोला, इतिहासमा मौन बस्नेहरुले इतिहास लेख्दैनन् । इतिहास उनीहरुले लेख्छन् जसले सही समयमै कसैको डर नमानी आवाज उठाउने शाहस गर्छन् । आज हामी सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित सबै निकायलाई सम्मानपूर्वक तर स्पष्ट सन्देश दिन चाहन्छौँ । हामी संवादमा विश्वास गर्छौँ, हामी समाधानमा विश्वास गर्छौँ, तर अब मौखिक आश्वासनमा विश्वास गर्दैनौँ । त्यसैले आज हामी यही मञ्चबाट हाम्रो माग स्पष्ट गर्छौँः एमइसीको पूरा मिटिङ छिटोभन्दा छिटो आयोजना गरियोस्, इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल गरियोस् र उक्त निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरियोस् । यदि हाम्रा जायज माग पूरा हुन्छन् भने आन्दोलनलाई निरन्तरता दिने हाम्रो उद्देश्य छैन । हामी अस्पताल फर्किन चाहन्छौँ, बिरामीको सेवामा समर्पित हुन चाहन्छौँ । तर सम्मान बिना सेवा सम्भव हुँदैन । आज हामी शान्त छौँ तर कमजोर छैनौँ । सम्बन्धित निकायहरु कृपया याद राख्नुहोला, जबसम्म हाम्रो श्रमको सम्मान हुँदैन, जबसम्म हाम्रो वैज्ञानिक अधिकार कार्यान्वयन हुँदैन, तबसम्म यो आवाज कुनै व्यक्ति, पद वा राजनीतिक शक्तिले रोक्न सक्ने छैन ।’
प्रदर्शनमा सहभागीहरुले हाम्रो धैर्यको परीक्षा धेरै भयो, प्रतिवेदन कार्यान्वयन गर, ईन्र्टन माथीको विभेद अन्त्य गर, हाम्रो माग स्पष्ट छ – निर्णय र कार्यन्वयन लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
उनीहरुले सरकार, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायले इन्टर्न स्टाइपेन्ड सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगरेमा माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।
प्रकाशित मिति २०८३ असार २७ गते शनिबार ०५:२५




