२०८३ असोज २३ गते शुक्रबार

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २७ गते शनिबार ०५:३७

कास्की कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई फोनिज कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पोखरा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ ।

तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उनका श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो ।

प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी दिइन् ।

वरिष्ठ पत्रकार एवं फोनिज गण्डकीका सल्लाहकार दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापा र सचिव देबिका तामाङ रहेका थिए ।

उक्त पुरस्कार यही असार २९ गते सोमबार प्रदान गरिदैछ । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका पत्रकार हितानमगर २०४१ सालमा परिस्थिती साप्ताहिक काठमाडौँबाट पत्रकारिता गरेका हुन् ।

अवलोक, पोखरा साप्ताहिक, जनधारणा साप्ताहिक, आर्दश समाज दैनिक पत्रिका हुँदै उनी हाल फेवा पोष्ट साप्ताहिकमा क्रियाशिल छन् । उनी तत्कालिन आदिवासी जनजाति पत्रकार संघ (अनिज) को संस्थापक अध्यक्ष समेत हुन् ।

त्यस्तै कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित हुन लागेकी पत्रकार गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा आवद्ध रही पत्रकारिता रहेकी छिन् ।

उनले रेडियो नेपालमा गुरुङ भाषामा समाचारवाचनसँगै रेडियो गोर्खालीमा पहिलो पटक गुरुङ भाषामा समाचारवाचन गरेकी थिइन् । त्यसपश्चात राष्ट्र भाषामा पनि समाचारवाचन गरेकी उनी रेडियो नेपालमार्फत निरन्तर भाषा पत्रकारितालाई जिवन्त बनाईराख्न क्रियाशिल छिन् ।

कास्की कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई फोनिज कास्कीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति २०८३ असार २७ गते शनिबार ०५:३७
हजुरको प्रतिक्रिया