काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक स्रोत व्यवस्थापन तीन वटै तहका सरकारबाट हुने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा मन्त्री पौडेलले अभौतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले अभौतिक सम्पदाको पहिचान, संरक्षण र सुचिकरणको लागी स्थानिय तहलाई नै सक्रिय बनाउने बताए । अभौतिक सांस्कृतिक सम्पदा व्यक्तिगत, पारिवारिक, सामुदायिक र राष्ट्रिय तहसम्म फैलिएको विषय भएकाले त्यसको संरक्षणको जिम्मेवारी पनि सोही तहअनुसार विभाजित हुने उनको भनाई छ । व्यक्तिगत परम्पराको संरक्षणमा राज्यको प्रत्यक्ष दायित्व नहुने भएपनि राष्ट्रिय पहिचानसँग जोडिएका सम्पदाको संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक सहभागिता जनाउने उनले जानकारी दिए । उनले मच्छिन्द्रनाथ रथयात्राको उदाहरण दिँदै राष्ट्रिय महत्वका सांस्कृतिक सम्पदाको संरक्षणमा सरकारको दायित्व रहने उल्लेख गरे ।
सांसदहरुले स्रोत व्यवस्थापनको विषय विधेयकमा आएको भन्दै प्रश्न उठाएका थिए । जवाफमा मन्त्री पौडेलले स्रोत सुनिश्चितताको व्यवस्था नियमावलीमार्फत व्यवस्थापन गर्न सकिने बताए । उनले विधेयकका बारेमा धेरै विवाद नगर्न पनि सांसदहरुलाई आग्रह गरे । राष्ट्रिय सभामा विज्ञहरुसहित राखेर विधेयकको सन्दर्भमा लामो समयसम्म छलफल भएको उल्लेख गर्दै उनले फेरि त्यही विषय नदोहो¥याउन आग्रह गरे । बैठकमा सांसदहरुले विधेयकको नाममाथी पनि प्रश्न उठाएका थिए ।
प्रकाशित मिति २०८३ असार ३० गते मंगलबार ०१:१८




