२०८३ साउन २१ गते बिहीबार

उच्च अदालत पोखराको फछ्र्योट दर ७५.८८ प्रतिशत, दुई वर्ष नाघेका मुद्दा शून्य

उच्च अदालत पोखराको फछ्र्योट दर ७५.८८ प्रतिशत, दुई वर्ष नाघेका मुद्दा शून्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २ गते शनिबार १२:४१

सीमित स्रोत–साधन र भौतिक पूर्वाधारका चुनौतीबीच पनि अदालतले लक्ष्यअनुसार उल्लेखनीय प्रगति हासिल गरेको उनको भनाइ थियो ।
कार्यक्रममा रजिस्ट्रार रामु शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्षभर अदालतमा जिम्मेवारी सरेका ७५० र नयाँ दर्ता भएका १ हजार ३१९ गरी कुल २ हजार ६९ मुद्दा लगतमा रहेका थिए ।

पोखरा ।

उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२÷८३ मा ७५.८८ प्रतिशत मुद्दा फछ्र्योट गर्दै दुई वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नराख्न सफल भएको जनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति सार्वजनिक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्याय सम्पादनलाई छिटो, गुणस्तरीय र नागरिकमैत्री बनाउन अदालत निरन्तर क्रियाशील रहेको बताए ।

सीमित स्रोत–साधन र भौतिक पूर्वाधारका चुनौतीबीच पनि अदालतले लक्ष्यअनुसार उल्लेखनीय प्रगति हासिल गरेको उनको भनाइ थियो ।

कार्यक्रममा रजिस्ट्रार रामु शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्षभर अदालतमा जिम्मेवारी सरेका ७५० र नयाँ दर्ता भएका १ हजार ३१९ गरी कुल २ हजार ६९ मुद्दा लगतमा रहेका थिए ।

तीमध्ये १ हजार ५७० मुद्दा फछ्र्योट हुँदा ४९९ मुद्दा बाँकी रहेका छन् । समग्र फछ्र्योट दर ७५.८८ प्रतिशत पुगेको छ ।

रजिस्ट्रार शर्माका अनुसार बाँकी रहेका ४९९ मुद्दामध्ये ३१४ मुद्दा ६ महिनाभित्रका, १७७ मुद्दा ६ महिनादेखि एक वर्षभित्रका र ८ मुद्दा एक वर्षदेखि १८ महिनाभित्रका छन् । दुई वर्ष नाघेका कुनै पनि मुद्दा अदालतमा नरहेको उनले जानकारी दिए ।

क्षतिग्रस्त भवनका कारण सेवा प्रवाहमा चुनौती रहेको अदालतले औंल्याएको छ ।

आवश्यक पूर्वाधार निर्माण र प्रविधि विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उपरजिष्टार निल प्रसाद पनेरुले जनाए ।

प्रकाशित मिति २०८३ साउन २ गते शनिबार १२:४१
हजुरको प्रतिक्रिया