पोखरा ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिला फेला परेका छन् ।
च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ को चउन्नीका तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको हो ।
आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ ।
तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दुरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए ।
च्याउ खोज्न गएकै बेला सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–१९ का १४ महिलाको खोजी कार्य भने अझै जारी छ ।
रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीकार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति २०८३ साउन ४ गते सोमबार ०१:१०




