२०८३ साउन २१ गते बिहीबार

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ५ गते मंगलबार १२:३७

आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको उनले बताए । देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ ।

पोखरा ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन् ।

मंगलबार वैदेशिक रोजगारविभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीहरुसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् ।

उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे ।

मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।

मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित नहुने पनि उनले बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको बताए ।

आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको उनले बताए । देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ ।

यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

मन्त्री यादवले भने, ‘वैदेशिक रोजगारीलाई तुरुन्तै रोक्न सकिने अवस्था पनि छैन, न त त्यसो गर्नु उचित हुन्छ । आजको विश्व ‘ग्लोवल भिलेज’ बनेको छ, जहाँ मानिसहरूको एक देशबाट अर्को देशमा आवतजावत स्वाभाविक प्रक्रिया हो । त्यसैले हाम्रो प्राथमिकता वैदेशिक रोजगारी रोक्ने होइन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने हो । हामी राम्रो श्रम बजारको खोजीमा पनि छौँ, जहाँ नेपाली श्रमिक शोषणमा नपरुन् । उचित तलव, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत जीवनस्तरका सुविधा प्राप्त गर्न सकून् । युरोपलगायतका नयाँ र सुरक्षित श्रम गन्तव्यका विषयमा पनि काम भइरहेको छ । यस क्षेत्रलाई मर्यादित बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक छ । जनताले छिटो परिणामको अपेक्षा गर्नुभएको छ, र हामी पनि त्यसका लागि निरन्तर प्रयासरत छौँ । आज जस्तै वैदेशिक रोजगार विभागबाट अनलाइन उजुरी प्रणाली शुरु गरिएको छ । यसैगरी श्रम विभागबाट पनि आन्तरिक श्रम बजारमा हुने श्रम शोषणसम्बन्धी उजुरीका लागि यस्तै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याइनेछ । हाल आन्तरिक श्रमिकले पनि श्रम कार्यालय धाउनुपर्ने अवस्था छ । अब ती सेवाहरूलाई पनि डिजिटल माध्यमबाट सहज बनाइनेछ ।’

मन्त्री यादवले विगतमा कानून कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै उहाँले अबका दिनमा सरकार निर्मम रूपमा प्रश्तुत हुने बताए ।

जनताले चाँडो नतिजा खोजेको महशुस गर्दै मन्त्रालयले परिणाममुखी काम गर्न तीव्र गतिमा प्रयास गरिरहेको उनको दाबी छ । वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत मन्त्री यादवले गरे ।

प्रकाशित मिति २०८३ साउन ५ गते मंगलबार १२:३७
हजुरको प्रतिक्रिया