२०८३ साउन २१ गते बिहीबार

जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा

जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ६ गते बुधबार ११:०३

पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए ।
अग्रजहरूले देखाएको बाटो र उनीहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको बताए ।

पोखरा ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् ।

वीपी कोईरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति थापाले वीपी कोईरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे । विकासको अवधारणाबारे चर्चा गर्दै उनले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे ।

वीपी कोईरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताए ।

पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए ।

अग्रजहरूले देखाएको बाटो र उनीहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको बताए ।

सभापति थापाले भने, ‘आज हामीले जननायक वीपी कोईरालालाई जलवायु परिवर्तनसँग जोडेर सम्झियौँ । अघि तपाईंहरूले पक्कै पनि हाम्रा प्यानेलिस्टहरूले भन्नुभएको कुरा सुन्नुभयो । वीपी कोईरालाले ‘जलवायु परिवर्तन’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो वा थिएन, त्यो छुट्टै कुरा हो । तर के वीपी कोईरालाले समावेशी भन्ने शब्द प्रयोग गर्नुभएको थियो ? त्यो पनि थिएन । आज हामी दलितको समावेशिताको कुरा गरिरहेका छौँ, महिलाको समावेशिताको कुरा गरिरहेका छौँ । तर दक्षिण एसियामै कुनै महिलाले सरकारमा सहभागिता जनाउने अवसर प्राप्त नगर्दै गर्दा आफ्नै मन्त्रिमण्डलमा महिलालाई सहभागी गराएर, दलित समुदायका प्रतिनिधिलाई पार्टीको महामन्त्री बनाएर तथा सबै जातजाति र भाषाभाषीलाई समेटेर संसद र मन्त्रिमण्डल गठन गरी बिपी कोइरालाले त्यही बेला नेपालको लोकतन्त्र समावेशी नभईकन अगाडि बढ्यो भने त्यो लोकतन्त्र पूर्ण हुँदैन भन्ने कुरा हामीलाई सिकाउनु भयो । त्यसैगरी विकासका मुद्दाका सन्दर्भमा पनि अघि यहाँ भएको चर्चा म सुनिरहेको थिएँ । जब तपाईं विकासको कुरा गर्नुहुन्छ, त्यहाँ सामाजिक न्यायलाई छोड्नुभयो भने, मानव कल्याणलाई छोड्नुभयो भने, लोककल्याणलाई छोड्नुभयो भने, नैतिक अधिकार र नैतिक जिम्मेवारीका विषयलाई छोड्नुभयो भने, दूरदर्शिताको विषयलाई छोड्नुभयो भने, तथा विकास दिगो हुन्छ कि हुँदैन भन्ने प्रश्नलाई बेवास्ता गर्नुभयो भने, त्यस्तो विकासको कुनै अर्थ हुँदैन । धेरै वर्षअघि नै विकासका बारेमा बिपी कोइरालाले चर्चा मात्र गर्नुभएन, आफैँ अभ्यास पनि गर्नुभयो । वीपी कोईरालाको पालामा वनको राष्ट्रियकरण गर्नुपर्छ, प्राकृतिक स्रोतहरू–चाहे वन होस् वा भूमि–माथि न्याय हुनुपर्छ, तिनलाई न्यायको दृष्टिले हेर्नुपर्छ भन्ने सोच विकसित गरिएको थियो । तर हामी बिपीका अनुयायीहरूले धेरै पछि विकासको प्रतिस्पर्धामा लागिरहँदा ती विषयहरू बिर्सियौँ । आज नेपाली काँग्रेस अगाडि हेर्न चाहन्छ । आज यहाँ उपस्थित सबै साथीहरू भविष्यप्रति र नेपाली काँग्रेसप्रति विश्वास लिएर आउनुभएको छ । तर भविष्यतर्फ पाइला चाल्दै गर्दा हामीलाई थाहा छ, वर्तमानमा इमानदार हुनुपर्छ। र सिक्नका निम्ति हामीले विगततर्फ फर्केर पनि सिक्नुपर्छ । हाम्रा अग्रजहरूले देखाउनुभएका मार्ग र विचारबाट धेरै कुरा सिक्न बाँकी छ । जलवायु परिवर्तनको विषयलाई हामी नेपालको विकासको एउटा मूल विषय बनाउन चाहन्छौँ । त्यसका निम्ति हामी आफ्नै अग्रजहरूले हिजो राख्नुभएका विचार र गर्नुभएका निर्णयहरूलाई एकपटक फेरि फर्केर हेर्न चाहन्छौँ । यही सोचका साथ जननायक विपी कोईरालाको स्मृति दिवसका अवसरमा आज युवा साथीहरू तथा आ–आफ्नो क्षेत्रमा अनुभव प्राप्त गर्नुभएका विज्ञ साथीहरूलाई बोलाएर छलफल ग¥यौं । यस छलफलबाट पार्टीले धेरै ज्ञान र अनुभव प्राप्त गरेको छ । यी विषयहरूलाई हामी उपयुक्त समयमा उपयुक्त ठाउँमा उठाउँदै पनि जानेछौँ र व्यवहारमा पनि कार्यान्वयन गर्दै जानेछौँ ।’

सभापति थापाले प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने समेत प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ११:०३
हजुरको प्रतिक्रिया