२०८३ साउन २१ गते बिहीबार

काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत

काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ६ गते बुधबार ०४:४६

पोखरा । नेपाली काँग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताए । वीपी स्मृति दिवसको अवसरमा बुधबार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको...

पोखरा ।

नेपाली काँग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताए ।

वीपी स्मृति दिवसको अवसरमा बुधबार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने बताए ।

उनले नेपाली काँग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए ।

नेता बस्नेतले नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सति जान दिन नहुने टिप्पणी पनि गरे । उनले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो भन्दा दुई महिना पार्टी बनाउने काम गरेको भए अहिले त्यो अध्यावधिक भनेर हामीले महिनै पिच्छे समय थप्नुपर्ने स्थिति आउँदैनथ्यो । हामीबाटै कमीकमजोरी भयो, हामीबाटै ढिलासुस्ती भयो । त्यही कारणले हाम्रा साथीभाइहरू बाध्य भएर पार्टीभित्र आफ्नो अस्तित्व खोजिरहेका छन् । १२–१५ वर्षमा पनि अधिवेशन हुँदैन । वृद्ध हुने बेला भइसक्यो तरुण दल भनेर बसेको छ अधिवेशन हुन सकेन । अब योभन्दा पछिको जिम्मेवारी कसले लिने ? नेपाली कांग्रेस भएन, कमजोर भयो वा बलियो भएन भने मुलुकमा प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने होइन, मुलुक कसको हातमा जाने हो ? भन्नेकुरा पनि गम्भीर अवस्था छ । त्यही कुरालाई ध्यानमा राखेर आज सातवटा प्रदेशको भेला भयो । लगत्तै राष्ट्रिय भेला गर्ने भनेका थियौँ । त्यसमा पनि ढिला भइरहेको छ । आज केन्द्रिय भेलाको मिति घोषणा हुनुपर्छ । पार्टी फुटाउने होइन बनाउने हो, अर्को पार्टी बनाउने हो । गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरू सति जान दिने होइन । कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्ने हुन्छ ।’

कमजोर पार्टीको नेता बन्ने नभई बलियो पार्टीको कार्यकर्ता बन्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०४:४६
हजुरको प्रतिक्रिया