पोखरा ।
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता साउदले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरे ।
उनले संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरे ।
मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकतावद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भुमिका र अग्रसरता लिनुपर्नेमा जोड दिए ।
पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ ।
उनले भने, ‘ निर्वाचन आयोगको निर्णय र अदालतले विषेश महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने कांग्रेस र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सक्दैनौँ तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेस सामना गर्न सक्दैन । मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन । यही कुरालाई दृष्टिगत गरेर पार्टी एकताको माध्यमबाट मुलुककै राजनीतिलाई रूपान्तरण गर्ने गरेर अगाडि बढ्नुपर्छ भनेर हामी अगाडि बढिरेहका छौँ । आज यहाँ ठुलो जत्था छ । पार्टी कार्यालय जाने साथीहरुले कार्यालयमा जाने २० प्रतिशत मान्छे मात्रै पुराना देख्छौँ, बाँकी मान्छेलाई त हामी चिन्दैनौँ भन्दै हुनुहुन्थ्यो । आज मलाई यो कुरामा खुसि लागेको छ कि यो सानो कुनामा बसेको भएपनि ८० प्रतिशत मान्छे जेल गएको, दुःख पाएको, पार्टी निर्माणको लाठी खाएको, पार्टीको जिम्मेवारी बोकेको, पार्टीका लागि भविष्यमा पनि संघर्ष गर्ने साथीहरू यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्व भएकामा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, यी भरोसा र विश्वास हुन् । यो नेपाली कांग्रेसका विचारका, सिद्धान्तका भरोसा र विश्वासहरू हुन् । जबसम्म तपाईंहरूले सच्चिएर, तपाईंहरूले सबैले मिल्नुपर्छ, मिलेर मात्रै लडाइँ जित्न सकिन्छ भन्ने मान्यता लिएर तपाईंहरू अगाडि बढ्न सक्नुहुन्न, तबसम्म नेपाली काँग्रेस प्रभावकारी बलियो पार्टीका रूपमा स्थापित हुन सक्दैन । नेपाली कांग्रेसको इतिहास र विरासतलाई पन्छाएर ७ सालको क्रान्ति पन्छाएर पञ्चायत फ्याँकेको पन्छाएर राजा फ्याँकेको पन्छाएर विरासत कायम राख्न सकिँदैन । यहाँ उपस्थित नेताहरू व्यक्ति मात्रै होइन, सबैसँग जेल गएको, बलिदान गरेको, योगदान गरेको इतिहास छ । त्यसलाई पन्छाएर वास्तवमा नेपाली काँग्रेस बलियो हुन सक्दैन । तपाईंहरूले खुला हृदयले जबसम्म पार्टी एकताका लागि विशेष अधिवेशनमा नगएको पक्ष र गएको पक्षका बीचमा एकता गर्ने कुरामा पहलकदमी गर्न सक्नुहुन्न, तबसम्म नेपाली काँग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा रहने कुरामा अहिले पनि जोखिम छ ।’
उनले वि.सं. २००७ सालको क्रान्ति, पञ्चायत विरुद्धको आन्दोलन र राजतन्त्र अन्त्यका लागि काँग्रेसले खेलेको ऐतिहासिक भुमिका र बलिदानलाई बिर्सन नहुने बताए ।
नेतृत्वले खुला हृदयका साथ पार्टी एकताका लागि पहलकदमी नलिए नेपाली काँग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा मात्र खुम्चिने जोखिम रहेको उनले चेतावनी दिए ।
पार्टीको ऐतिहासिक गरिमा र विरासत कायम राख्न नेतृत्वले सबैलाई मिलाएर लैजाने संकल्प गर्नुपर्नेमा उनको विशेष जोड छ ।
प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०४:५१




