२०८३ साउन २१ गते बिहीबार

आन्तरिक कलह समाधान नगरिए काँग्रेस विभाजन हुनसक्छः डा. शशांक कोईराला

आन्तरिक कलह समाधान नगरिए काँग्रेस विभाजन हुनसक्छः डा. शशांक कोईराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ६ गते बुधबार ०४:५९

पोखरा । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । वीपी स्मृति दिवसका अवसरमा बुधबार...

पोखरा ।

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिष्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

वीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताएका हुन ।

उनले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताए ।

उनले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सहि दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरु परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत बताए ।

उनले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएपनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले वीपी कोईरालाले प्रतिपादन गर्नूभएको राष्ट्रिय मेलमिलापको नीति संवाद, सहिष्णुता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै काँग्रेसले त्यही कुरालाई आत्मसाथ गर्नुको विकल्प नरहेको बताए ।

डा. कोईरालाले वीपी कोईरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्य–मान्यता, लोकतान्त्रिक संस्थाको संरक्षण तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘वीपी कोईरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गर्नुभयो । उहाँले राजनीतिलाई केवल सत्ताको माध्यम नभएर सेवाको स्थान राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको स्मरण गर्दै यी चुनौतीहरुको सामना गर्ने सामथ्र्य आज हामीले राख्नुपर्दछ । लोकतन्त्रका मूल्य मान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सहि दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरुले परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता हो । यो अवसरमा लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेस भित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ प्रतिष्पर्धा र अनावश्यक विबादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पर्ने खतरालाई नजरअन्दाज गर्नुहुँदैन । लोकतन्त्रमा विचारको भिन्नता स्वभाविक हो तर विचारको भिन्नतालाई विभाजनको आधार होइन साझा निष्कर्षमा पुगेर अवसरका रुपमा लिनुपर्दछ । वीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति संवाद सहिष्णुता र सहकार्यको राजनीतिक संस्कारले यही प्रेरणा दिन्छ । त्यसैले आजको आवश्यकता आरोप प्रत्यारोप आग्रह, पूर्वाग्रह र समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको विचार संगठन तथा राजनीतिक एकतालाई सुदृढ बनाउनु हो । वीपी स्मृति दिवसको अवसरमा म यी गम्भीर सन्दर्भमा नेपाली काँग्रेसका सम्पूर्ण नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई पार्टीको एकता र सहकार्य मजबुत बनाउन अपील गर्दछु । साथै पार्टीभित्र देखिएका असन्तुष्टि मतभेद र विवादहरुलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ गतिशील र एकतावद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्व माथि रहेको यथार्थलाई पनि म स्मरण गराउन चाहन्छु । नेतृत्वले सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद सहमति र सहकारिको वातावरण निर्माण गर्न सके मात्र काँग्रेस वास्तविक रुपमा एकतावद्ध हुन्छ । अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने यसको राजनीतिक तथा नैतिक जिम्मेवारी नेतृत्वले नै लिनुपर्दछ ।’

उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको एकता सुदृढ बनाउन आह्वान समेत गरे ।

प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०४:५९
हजुरको प्रतिक्रिया