पोखरा ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् ।
वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री साहलाई आग्रह गरे । उनले जेन–जी आन्दोलनको क्रममा काँग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएपनि उक्त घटनाले काँग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताए ।
उनले विशेष महाधिवेशनको नाममा देशभित्रकै विभिन्न शक्तिहरुले काँग्रेसलाई कमजोर बनाएको टिप्पणी पनि गरे ।
उनले गत वर्षको भदौ–२४ को रापताप अझै निभिनसकेको भन्दै मुलुकमा अर्को राजनीतिक जागरण आवश्यक रहेको बताए ।
उनले भने, ‘म आज वीपीलाई सम्झेर प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु, तपाईंहरू धेरै दम्भ र अहंकार लिएर नहिँड्नुस् । म यो प्रधानमन्त्रीलाई भन्न चाहन्छु, वीपीलाई सम्झेर, वीपीलाई साक्षी राखेर भन्न चाहन्छु, शशांक कोईरालाले वीपीको विचार मर्न दिन्न भन्नुभएको रहेछ । वीपीको विचारलाई उहाँले जीवन्त राख्नुभएको छ । उहाँले यो सानो कुरा होइन । यो विचारलाई साक्षी राखेर भन्न चाहन्छु, एक्लै हिँड्ने दम्भ नगर्नुस् ठक्कर लाग्ला । ठक्कर लागेपछि उठाउने कोही हुँदैन । त्यस्तै परेमा उठाउन फेरि हामी नै आउनुपर्ला तपाईंलाई पनि । किनकि हामीमा नेपाली काँग्रेसको राजनीतिक रगत छ । हामीमा संस्कार छ । हाम्रा घरमा आगलागी भयो, तोडफोड भयो, लुटपाट भयो तर काँग्रेस डरायो भनेर कसैले नसम्झे हुन्छ । त्यो घटनाले हाम्रो चेतना अझै जागरण भएको छ । नयाँ स्फूर्ति आएको छ हामीलाई । विशेष महाधिवेशनबाट कांग्रेस छिन्नभिन्न गराई हाल्यौँ भनेर नभन्नुस् । जहाँबाट गराएपनि देश गम्भीर संकटमा छ भनेर मात्र पुग्दैन । यसको लागि लड्नुपर्छ ।’
पार्टीलाई एकतावद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको समेत उनको आरोप छ ।
प्रकाशित मिति २०८३ साउन ६ गते बुधबार ०५:०२




