२०८३ साउन २१ गते बिहीबार

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ७ गते बिहीबार ११:०९

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे÷लापसे) सम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की,...

पोखरा ।

पर्यटकीय नगरी पोखराको फेवातालमा डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे÷लापसे) सम्बन्धी विशेष जाँच अभियान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुंगा चालकको परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

डिएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए ।

उनले भने, ‘डुंगाबाट हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए÷नभएको सुनिश्चित गर्न हामीले यो कदम चालेका हौँ ।’

फेवातालका विभिन्न आठवटा घाटमा फेवा डुंगा व्यवसायी समितिसँग आवद्ध सात सयभन्दा बढी डुंगाहरू सञ्चालनमा छन् ।  बेलाबेलामा हुने मानवीय हेलचेक्रयाइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो ।

यसैबीच, फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस अभियानलाई सकारात्मक भन्दै स्वागत गरे । लागुपदार्थ सेवन गरेर डुंगा चलाउनु सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ छ ।

यद्यपि, प्रशासनले साँझ ६ बजेपछि डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुंगाहरू सुरक्षित रहेको दाबी गर्दै चालक र लाइफ ज्याकेट बिना कुनैपनि पर्यटकलाई तालमा नपठाइने प्रतिवद्धता जनाए ।

व्यवसायी र प्रशासनबीच समन्वय गरेर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति २०८३ साउन ७ गते बिहीबार ११:०९
हजुरको प्रतिक्रिया