२०८३ साउन २१ गते बिहीबार

आफन्त र परिवारलाई स्वकीय सचिव नियुक्त नगर्न रास्वपाको निर्देशन

आफन्त र परिवारलाई स्वकीय सचिव नियुक्त नगर्न रास्वपाको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ८ गते शुक्रबार ११:३५

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार सांसदहरूका लागि आन्तरिक...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन् ।

आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ ।

निर्देशनमा एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।

निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ ।

पार्टीले योग्यता, क्षमता, कार्यदक्षता र व्यावसायिकताका आधारमा मात्रै स्वकीय सचिव छनोट गर्न सांसदहरूलाई आग्रह गरेको छ ।

सरकारले हालै संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गरिएको छ ।

योे व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्राकिंत तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन् ।

रास्वपाले भने राज्यकोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ११:३५
हजुरको प्रतिक्रिया