२०८३ साउन २१ गते बिहीबार

सकारात्मक र सिर्जनशील समाचार संप्रेषणमा प्रहरी महानिरीक्षकको जोड

सकारात्मक र सिर्जनशील समाचार संप्रेषणमा प्रहरी महानिरीक्षकको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ८ गते शुक्रबार १२:०४

पोखरा । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन् । शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ...

पोखरा ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन् ।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गरे ।

सामाजिक सञ्चारमाध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उनले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिए ।

उनकाअनुसार, प्रहरीले सामाजिक सञ्चालमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढंगले सूचना पु¥याउने प्रयास गरिरहेको छ ।

उनले सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई राजनीति, कुटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सिर्जनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे ।

महानिरीक्षक कार्कीले भने, ‘आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन् । टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ । यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो तथा सन्देशहरू सार्वजनिक गरेर नागरिकलाई छिटो र सहज रूपमा जानकारी दिने प्रयास गरिरहेको छ । सञ्चारमाध्यमसँग पनि मेरो आग्रह छ–राजनीति, विवाद र द्वन्द्वका समाचार मात्र होइन, सिर्जनशीलता, परिश्रम, उत्पादन, कृषि, पर्यटन, नवप्रवर्तन, सुरक्षा र समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिहरूका प्रेरणादायी समाचारलाई पनि प्राथमिकता दिइयोस् । यस्ता सकारात्मक विषयको प्रवद्र्धनले सभ्य, सचेत र सिर्जनशील समाज निर्माणमा ठूलो योगदान पु¥याउँछ ।’

उनले कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिए ।

यस्ता सकारात्मक समाचारले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाजलाई नै रचनात्मकतातर्फ मोडिने अभिलाषा उनले व्यक्त गरे ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार १२:०४
हजुरको प्रतिक्रिया