पोखरा ।
नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले राष्ट्रिय सभाको गरिमा अभिवृद्धि र संसदीय समितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद ढुंगानाले सिक्ने प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्दै यस्ता कार्यक्रमले सांसदहरूको क्षमता विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले राष्ट्रिय सभालाई कसरी अनुशासित ढंगले अगाडि बढाउने र समितिका प्रतिवेदनहरूलाई कसरी गुणस्तरीय एवं प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल र सिकाइको आवश्यकता रहेको बताए ।
सांसद ढुंगानाले भने, ‘ज्ञान हुनु एउटा पक्ष हो तर त्यसलाई प्रस्तुत गर्ने शैली र कला अर्को महत्वपूर्ण पक्ष हो । धेरै विद्वानहरू भएपनि सबैमा प्रश्तुत गर्ने दक्षता नहुन सक्छ । त्यसैले विज्ञहरूको अनुभवबाट सिक्नु हाम्रा लागि फलदायी हुन्छ ।’
ढुंगानाले विज्ञहरूको छनोट गरी कार्यक्रम सञ्चालन गर्दा संसदीय समितिहरूको काममा थप निखार आउने बताए ।
प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०३:१४




