२०८३ साउन २१ गते बिहीबार

काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो

काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १३ गते बुधबार १०:५७

पोखरा । सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय...

पोखरा ।

सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएका हुन् ।

नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाए । नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटी देखिएको टिप्पणी गरे ।

उनले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गरे ।

उनले भने, ‘यस्तो गम्भीर र संवेदनशील विषयमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । सरकार केवल सामाजिक सञ्जालको ‘स्टाटस’ मा मात्र सिमित देखियो, तर कार्यथलोमा उसको उपस्थिति शुन्य छ । हामीले अब ढिलो नगरी तराई–मधेसमा क्रियाशील सामाजिक समूह, धार्मिक गुरु तथा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष छलफल अगाडि बढाउनेछौँ । सामाजिक सद्भाव बिग्रन नदिन र उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक वृत्तभन्दा बाहिरका सरोकारवालासँग पनि सहकार्य गरिनेछ ।’

बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तत्कालै संयुक्त पहल गर्ने निर्णय गरेका छन् ।

राज्यको प्रतीक्षा नगरी दलहरू आफैँ फिल्डमा गएर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको आङदेम्बेले जानकारी दिए ।

प्रकाशित मिति २०८३ साउन १३ गते बुधबार १०:५७
हजुरको प्रतिक्रिया