२०८३ साउन २१ गते बिहीबार

शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १४ गते बिहीबार ११:४८

पोखरा । नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय...

पोखरा ।

नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन् ।

साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभइ संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । तर राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको उनले आरोप लगाइन् ।

उनले घटनामा मृत्युवरण गर्ने ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन् ।

उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरिन् । मुलुक सङ्कटमा परेका बेला प्रधानमन्त्री ’बेखबर’ रहेको आरोप लगाइन् ।

उनले सरकारले ठोस योजना ल्याएमा शान्ति र सद्भाव कायम गर्न एमाले सहकार्य गर्न तयार रहेको भए तापनि सरकारले त्यो तत्परता नदेखाएको बताइन् ।

उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन । देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बीचमा गएर संवाद गर्नुपर्छ । हाम्रा पूर्खाको बलिदानले जोगिएको यो देशको विरासत कमजोर बनाउने हक कसैलाई छैन । दुई महिनादेखि हामीले प्रश्न उठाइरहेका छौँ, तर प्रधानमन्त्रीबाट अझै चित्तबुझ्दो जवाफ आएको छैन। संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्छ ।’

प्रधानमन्त्रीले विगतमा संसदमा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दाबी गरिन् ।

सम्बोधनका क्रममा उनले बाढी पहिरो पीडितहरूको राहत र पुनस्र्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाइन् ।

साथै, सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य राज्यबाट भएको भन्दै उनले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गरिन् ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहीबार ११:४८
हजुरको प्रतिक्रिया