२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १४ गते बिहीबार ०३:२०

पोखरा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सुशासनका लागि राजनीतिक दलहरूबीच एकतावद्ध पहल हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको प्रतिनिधि...

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सुशासनका लागि राजनीतिक दलहरूबीच एकतावद्ध पहल हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज स्थिति सिर्जना गरेको भन्दै त्यसबारे संसदमा स्पष्टीकरण दिन माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु लोकतान्त्रिक परम्परा भएको उल्लेख गर्दै यस प्रक्रियालाई नभाँच्न आग्रह गरे ।

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिँदा उनको कद सानो नहुने बरु अझ उच्च हुने बताए । प्रतिपक्षसँग संवाद गर्दा र संसद्लाई जवाफ दिँदा प्रधानमन्त्रीको गरिमा बढ्ने उनले बताए ।

अनुभवीको सल्लाह मान्नुपर्ने आशय व्यक्त गर्दै उनले ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको’ भन्ने उखानसमेत उद्धृत गरे ।

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दाहालले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भुमिका र क्रियाकलाप महत्वपूर्ण हुने बातए ।

उनले रास्वपाका माननीय सदस्यहरूलाई सम्बोधन गर्दै मुलुकको भविष्य कता लैजाने भन्ने विषयमा जिम्मेवार हुन आग्रह गरे ।

उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्ता तथा सुशासन र समृद्धिको आकाङ्क्क्षा पूरा गर्न हामी सबै एकतावद्ध भएर अघि बढ्न आवश्यक छ । प्रधानमन्त्रीका केही अभिव्यक्तिबाट असहज अवस्था सिर्जना भएको छ भने उहाँले यही सदनमा आएर स्पष्टिकरण दिनुपर्छ । यो लोकतान्त्रिक परम्परा हो, यसलाई कमजोर पार्ने प्रयास हुनु हुँदैन। स्पष्टिकरण दिनु वा प्रतिपक्षसँग संवाद गर्नु कमजोरी होइन, बरु त्यसले प्रधानमन्त्रीको कद अझ उँचो बनाउँछ । अनुभवबाट सिक्ने र सबैसँग सहकार्य गर्ने संस्कार नै लोकतन्त्रको बल हो । देशलाई सही दिशामा लैजाने जिम्मेवारी आज सरकारकै काँधमा छ । त्यसैले जनताको विश्वासलाई कायम राख्ने गरी जिम्मेवार ढङ्गले अघि बढ्न म सरकारसँग आग्रह गर्दछु । सहकार्य र संवादको संस्कारलाई अघि बढाउने प्रयासका लागि सभापति रवि लामिछानेज्यूलाई धन्यवाद दिँदै, देशमा देखिएका सबै समस्या संवाद र सहकार्यबाट समाधान गर्न सबै पक्षसँग हार्दिक अपिल गर्दै आफ्नो मन्तव्य समाप्त गर्दछु ।’

पूर्वप्रधानमन्त्री दाहालले रास्वपा सभापति रवि लामिछानेले राजनीतिक सहकार्यको नयाँ संस्कार अगाडि बढाउन खोजेको भन्दै उनलाई धन्यवाद दिए ।

मुलुकमा देखापरेका वर्तमान चुनौती र घटनाक्रमहरूको समाधानका लागि सहकार्यको प्रक्रियामार्फत अगाडि बढ्न उहाँले सबै पक्षसँग अपिल गरे ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहीबार ०३:२०
हजुरको प्रतिक्रिया