पोखरा ।
देशका विभिन्न भागमा गत वैशाख १ देखि यही साउन १४ गतेसम्म तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।
ती घटनामा १९३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् ।
यसैबीच, साउन १३ गते बिहान १०ः०० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ ।
ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ। घटनामा ४१ लाख आठ हजार बराबरको क्षति भएको छ ।
सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।
यसैगरी, साउन १३ गते बिहानदेखि साउन १४ गते बिहानसम्म देशका विभिन्न भागमा अवस्थित ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ११:३६




