पोखरा ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।
महतोले सरकार र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरू विगतमा जस्तै ‘रद्दीको टोकरी’ मा नफाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
वि.सं. २०६४ सालको ८ बुँदे सम्झौता लगायतका विगतका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई विश्वासघात नगर्न चेतावनी समेत दिए ।
उनले भने, ‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन । सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ । मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो, त्यसैले जनताको भावना र संघीयतालाई अधिकारसम्पन्न बनाउने कुरामा सरकार गम्भीर हुनुपर्छ ।’
प्रधानमन्त्रीले जनकपुरमा ‘बलियो संघीयता’ निर्माण गर्ने भनी दिनुभएको सार्वजनिक अभिव्यक्तिलाई व्यवहारमा उतार्न महतोले आग्रह गरे ।
जवाफमा प्रधानमन्त्रीले संघीयताप्रति सरकार पूर्णतः प्रतिवद्ध रहेको र यसलाई कमजोर पार्ने कुनैपनि सोच नभएको स्पष्ट पार्नुभएको महतोले जानकारी दिए ।
प्रधानमन्त्रीले सुनसरी घटनाबारे छानबिन समिति गठन भइसकेको र त्यसको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही गरिने आश्वासन दिएका छन् ।
साथै, साम्प्रदायिक दंगा फैलाएर अनुचित लाभ लिन खोज्ने तत्वहरूबाट शतर्क रहन र प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ०२:५९




