२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर बुझ्नुस्, भाउ नखानुस्’

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर बुझ्नुस्, भाउ नखानुस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १५ गते शुक्रबार ०४:०१

पोखरा । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका...

पोखरा ।

नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुनसरीको कप्तानगञ्जसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

उनले अल्पसंख्यक समुदायले आफूलाई असुरक्षित र बहुसंख्यक समुदायले आफूलाई असम्मानित महशुस गर्ने अवस्था सिर्जना हुँदा तथा राज्यले दंगा रोकथामका अग्रिम उपाय बेवास्ता गरी बल प्रयोगलाई प्राथमिकता दिँदा सुनसरीको कप्तानगञ्जमा भएको घटना मधेशभर फैलिएको आरोप लगाए ।

उनले मधेसमा उत्पन्न तनावबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहनुले सरकारको जवाफदेहितामाथि थप प्रश्न उठाएको टिप्पणी गरे ।

सांसद शर्माले प्रधानमन्त्रीलाई आफ्नो शपथग्रहण समारोहमा बजाइएको शंखध्वनिले अल्पसंख्यक र बहुसंख्यक समुदायमा पारेको मनोवैज्ञानिक प्रभावसमेत बुझ्न आग्रह गरे ।

उनले भने, ‘जब अल्पसंख्यक समुदाय असुरक्षित भएको सम्झिन्छ र बहुसंख्यक समूदाय आफू असम्मानित । उता राज्यको निकायले कुनैपनि दंगा र अप्रिय घटनाको रोकथामको अग्रिम उपायलाई बेवास्ता गरि बल प्रयोगलाई मात्र महत्व दिन थाल्छ । तब सुनसरीको कप्तानगञ्जमा घटेको अप्रिय घटना वनको डढेलो बन्न पुग्दछ । त्यसमा सरकारको जवाफदेहिताको अभाव झन प्रष्ट देखिन्छ जब यस घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा समेत सम्माननीय प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित देखिन्छन् । सम्माननीय अध्यक्षज्यूमार्फत सम्मानीय प्रधानमन्त्रीज्यूलाई आफ्नो शपथ ग्रहण समारोहका शंखको ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समूदायमा परेको विपरित मानसिक असरलाई बुझ्न आग्रह गर्दै सम्मानीय प्रधानमन्त्रीज्युलाई धेरै भाउ नखान आग्रह गर्दछु । सुनसरीसहित अन्य ठाउँमा घटेका हिंसात्मक घटनाको निश्पक्ष छानविनको माग गर्दछु ।’

उनले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न र अगामी दिनमा यस्ता घटना हुन नदिने कुरामा गम्भीर हुन समेत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ०४:०१
हजुरको प्रतिक्रिया