पोखरा ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेता डा. शशांक कोईरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् ।
शनिबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे ।
नेपाली राजनीति विगत एक वर्षदेखि अनिश्चितता र हिंसाको भुमरीमा रुमल्लिएको उल्लेख गर्दै डा. कोईरालाले यसको प्रत्यक्ष असर नेपाली काँग्रेसमा परेको बताए ।
उनले २०८२ भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको स्मरण गर्दै त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको बताए ।
देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता कोईरालाले पछिल्लो समय नागरिक स्वतन्त्रता र मानव अधिकार संकुचित हुँदै गएको र लोकतान्त्रिक संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरे ।
साथै, सुनसरीको देवानगञ्जबाट शुरु भई मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक हिंसाप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उचित उपचारको माग गरे ।
उनले भने, ‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसङ्ग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो, यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टता कायम गर्न आयोजना गरिएको यस राष्ट्रिय भेलामा वर्तमान तथा पूर्व पदाधिकारीहरू, सांसदहरू, प्रदेश तथा जिल्ला सभापतिहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू र लोकतान्त्रिक आन्दोलनका बुद्धिजीवीहरूलाई निमन्त्रणा गरिएको छ ।
पार्टीका अर्का नेता डा. शेखर कोईरालाको सन्दर्भमा सोधिएको प्रश्नमा उनले डा. शेखरको यस अभियानमा पूर्ण समर्थन रहेको र व्यस्तताका कारण उपस्थित हुन नसके पनि ऐक्यवद्धता जनाएको जानकारी दिए ।
राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय शक्तिहरूबीचको सहकार्य नै आजको मुख्य आवश्यकता रहेको नेता कोईरालाको भनाइ छ ।
प्रकाशित मिति २०८३ साउन १६ गते शनिबार ०३:०९




