२०८३ साउन २१ गते बिहीबार

सरकारको कार्यशैलीप्रति सांसद शर्माको आलोचनाः ‘कानूनी प्रक्रिया मिचियो, पपुलिजमले युवा भ्रमित पारियो’

सरकारको कार्यशैलीप्रति सांसद शर्माको आलोचनाः ‘कानूनी प्रक्रिया मिचियो, पपुलिजमले युवा भ्रमित पारियो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १८ गते सोमबार ०२:२२

पोखरा । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो...

पोखरा ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाएका हुन् ।

उनले सरकारको कानूनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाए । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको र त्यसको परिणामस्वरुप अदालतबाट पटक–पटक धक्का खाइरहेको उल्लेख गरे ।

राहदानी विभागको भीड र किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए । घर–घरमा राहदानी पु¥याउने दाबी गरिए पनि व्यवहारमा नागरिकले सास्ती भोग्नु परेको र किसानले मल तथा बीउको अभाव झेलिरहनु परेको उनको भनाइ छ ।

शर्माले जेन–जी भनिने नयाँ पुस्ता पपुलिजमको भ्रममा परिरहेको भन्दै चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमजालले युवाहरूलाई उत्तेजित बनाएको र यसले मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भन्ने यकिन नभएको उनले जिकिर गरे ।

नेपाल सम्पती शुद्धीकरणको ग्रे लिस्टमा पर्ने जोखिममा रहेको बेला संगठित अपराधका आरोपीलाई उन्मुक्ति दिने प्रयास हुनु दुर्भाग्यपूर्ण भएको उनको तर्क छ । देशमा बढ्दै गएको साम्प्रदायिक तनावप्रति सरकारलाई सचेत गराए ।

नेताहरूमा देखिएको वैचारिक विचलन र राजनीतिक पाखण्डप्रति टिप्पणी गर्दै उनले कम्युनिष्ट नेताहरूले पशुपतिमा गर्ने विशेष पूजा र काँग्रेसका केही नेताहरूको तर्कविहीन आस्थाको प्रदर्शनलाई ‘विचारच्युत नाङ्गोपन’ को संज्ञा दिए ।

सांसद शर्माले भ्रष्टाचार र तस्करीका घटनामा पनि सरकारको ध्यानाकर्षण गराए । नेपाल सुन, कोकेन र गाँजा तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको तथा पर्यावरण विनाश भइरहेको भन्दै उनले यस्ता कुटनीतिक र आर्थिक संकटबाट पार पाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

कसैले उपहारका नाममा महँगो गाडी चढ्ने गरेको विषयलाई संकेत गर्दै उनले यसलाई ‘उत्कोच’ वा ‘उपहार’ के मान्ने भनी प्रश्न समेत गरे ।

उनले भने, ‘वर्तमान सरकारले लोकतान्त्रिक विधि मिचेर गरेका निर्णयहरू अदालतबाट बदर भइरहेका छन् । अहिले फेरि न्यायाधीशलाई महाअभियोग लगाउने चर्चा चल्नुले सरकारको नियतमाथि प्रश्न उठाएको छ । नेपाल धार्मिक सहिष्णुताको पक्षधर भनिए पनि वर्षेनी साम्प्रदायिक दङ्गाहरू भइरहेका छन् । अल्पसङ्ख्यकहरूले असुरक्षित महशुस गरिरहेका छन् । सरकार प्रमुख र राष्ट्र प्रमुख यस्ता संवेदनशील विषयमा सचेत हुनुपर्दछ ।’

उनले पुराना दलहरू प्रतिपक्षविहीन भएर सत्ताको म्युजिकल चेयरमा मात्र केन्द्रित हुँदा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताए ।

सरकारलाई विद्यालय, कर्मचारी र विद्यार्थी सङ्गठनमाथि प्रतिवन्ध लगाउन खोज्नुभन्दा समस्याको चुरो पहिल्याउन उनले सुझाव दिए ।

प्रकाशित मिति २०८३ साउन १८ गते सोमबार ०२:२२
हजुरको प्रतिक्रिया