२०८३ साउन २१ गते बिहीबार

मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ

मुलुकको सामाजिक सद्भाव र शान्ति सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छः सांसद श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १८ गते सोमबार ०३:१७

पोखरा । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय...

पोखरा ।

राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद किरणबाबु श्रेष्ठले मुलुकमा बढ्दै गएको हिंसात्मक गतिविधि र सामाजिक सद्भावमा आउन सक्ने चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सहिष्णुता र विधिको शासन कायम हुनुपर्ने बताएका हुन् ।

सम्बोधनको प्रारम्भमा सांसद श्रेष्ठले गत साउन १४ गते पाकिस्तानको काराकोरम श्रृंखलामा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र गोरखाका पूर्णबहादुर गुरुङसहित १० जना आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

उनले केही दिनअघि सुनसरी र सिराहामा भएका झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवप्रति शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

सांसद श्रेष्ठले कुनैपनि नेपालीको मृत्यु परिवारको मात्र नभई राष्ट्रकै पीडा भएको उल्लेख गर्दै हिंसामा ज्यान गुमाउने व्यक्तिलाई जात, धर्म वा समुदायको चस्माले हेर्न नहुने बताए ।

नेपालको विविधता नै यसको शक्ति भएको चर्चा गर्दै उनले पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको फूलबारी’ को मर्मलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल गौतम बुद्धको भूमि हो, जहाँ करुणा र सहअस्तित्वको सन्देश दिइएको छ। तर आज हामी शान्तिका लागि छटपटाइरहेका छौँ । के राज्यले सम्भावित तनावको समयमै आँकलन गर्न सक्यो ? के सुरक्षा निकायबीच आवश्यक समन्वय भयो ? स्थानीय प्रशासनले रोकथामका उपायहरू पर्याप्त रूपमा अपनायो कि अपनाएन ?’

पछिल्लो समय सामाजिक सञ्जालमा सम्प्रेषण हुने गलत सूचना र केही गैरजिम्मेवार व्यक्तिका कारण दशकौँदेखिको सामाजिक विश्वास धर्मराएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सरकारमा रहेका युवा नेतृत्व र नयाँ पुस्ताप्रति लक्षित गर्दै सांसद श्रेष्ठले जोस र जाँगर मात्र पर्याप्त नहुने भन्दै अनुभव र परिपक्वताको आवश्यकता औँल्याए ।

प्रकाशित मिति २०८३ साउन १८ गते सोमबार ०३:१७
हजुरको प्रतिक्रिया