पोखरा ।
जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् ।
काठमाडौमा बिहीबार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्रे बटुल्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले राप्रपाबाट पार नलागेपछि राजसंस्था र हिन्दुराज्यको लागि आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए । उनले राप्रपाले ३७ वर्ष राजाको नाममा जनमत संकलन गरेपनि जनताले अवसर दिँदा आफ्ना मूल एजेण्डालाई कार्यान्वयन गर्न नसकेको दाबी गरे ।
पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थका कारण एजेण्डालाई तिलाञ्जली दिएको उनको आरोप छ । अध्यक्ष राणाले राप्रपाको गतिविधिप्रति असन्तुष्टि जनाएर नै विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको उनले बताए ।
राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डाप्रति जनताको वितृष्णा नभएपनि राप्रपाको गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा प्रकट भएको उनको दाबी छ ।
उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन ग¥यो । जब जब जनताले ठाउँमा पुर्याए, आफ्नो एजेण्डालाई अगाडि सारेन । नेताहरुको व्यक्तिगत स्वार्थमा एजेण्डाको तिलाञ्जली दिए । राप्रपाबाट अब यो काम हुदैन, बिगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत नेताहरुको जनताले जमानत जफत गरिदिए, अब एजेण्डै बिग्रिने भयो, सिदिने भयो र एउटा नरेटिभ के बन्न थाल्यो भने ९७ प्रतिशत जनताले राजा हिन्दु राष्ट्र बोकेको पार्टीलाई जमानत जफत ग¥यो, यो एजेण्डै सिद्दियो भन्ने जुन नरेटिभ बन्न गयो, त्यो एजेण्डालाई रेस्क्यु गर्नको लागी पनि हामि बाहिर निस्किएको हो । हामीले के बुझेका छौँ भने नेपाली जनताले हिन्दु अधिराज्य अथवा राजा सहितको प्रजातन्त्रलाई नकारको होइन राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलापलाई नकारको कारणले भोट नआएको हो ।’
उनले निर्वाचन परिणामपछि राजा र हिन्दु राष्ट्रको एजेण्डा समाप्त भयो भन्ने भाष्य निर्माण हुन थालेकाले त्यसलाई जोगाउन जय नेपाल पार्टी स्थापना गरिएको बताए ।
नेपाली जनताले हिन्दु अधिराज्य वा राजासहितको प्रजातन्त्रको अवधारणालाई अस्वीकार नगरेको उनको दाबी छ ।
प्रकाशित मिति २०८३ साउन २१ गते बिहीबार ०२:५९



