पोखरा ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाको सुरक्षालाई तत्काल सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पारेकी छिन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन गर्ने उद्देश्यले नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्याधिक भीडभाड तथा आवागमनका व्यवहारिक कठिनाइलाई सम्बोधन गर्न ल्याइएको बताइन् ।
उनले सरकारले लैंगिक असमानता बढाउने नभई महिलाले सार्वजनिक यातायातमा भोगिरहेका विद्यमान असमान जोखिम न्युनिकरण गर्ने आवश्यकतामा आधारित भएर ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताइन् ।
उनले सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग अलग यात्रा गराउने नभई सार्वजनिक बसमा सम्मानजनक, सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताइन् ।
उनले भनिन्, ‘सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुव्र्यवहार, असुरक्षा, भिडभाड तथा आवागमनसम्बन्धी व्यवहारिक कठिनाईलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रुपमा ब्लु बस सेवा अगाडि बढाइएको हो । यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्ने कुरामा रोक लगाउँदैन । र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि गर्दैन । त्यसैले यो लैंगिक असमानतातार्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनिकरण गर्ने विषयलाई लक्षित र आवश्यकतामा आधारित उपाय हो । सरकारको दीर्घकालिन लक्ष्य महिला र पुरुषलाई अलग अलग यात्रा गराउनु होइन । महिला र पुरुषले एउटै सार्वजनिक बसमा सम्मानजनक र सहज रुपमा यात्रा गर्नसक्ने वातावरण निर्माण गर्नु नै सरकारको मुल लक्ष्य हो । यससाँगै महिलाले सार्वजनिक बसमा भोगिरहेका जोखिम र दुव्र्यवहारलाई तत्काल सम्बोधन गर्नु पनि सरकारको जिम्मेवारी हो । त्यसकारण महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्नको लागि र सबैको लागि सम्मानजनक सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने दीर्घकालिन सुधारलाई अगाडि बढाउनेछ ।’
महिलामाथि सार्वजनिक बसमा हुने दुव्र्यवहार र जोखिमलाई तत्काल सम्बोधन गर्नु सरकारको जिम्मेवारी रहेको पनि उनले बताइन् ।
उनले सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्ने कुरामा सरकार गम्भीरताका साथ काम गरिरहेको समेत उल्लेख गरिन् ।
प्रकाशित मिति २०८३ साउन २१ गते बिहीबार ०३:२९




