२०८३ असोज २३ गते शुक्रबार

सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी

सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २२ गते शुक्रबार १२:१२

पोखरा । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् । शुक्रबार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक...

पोखरा ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् ।

शुक्रबार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिए ।

महानिर्देशक जैसीकाअनुसार सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको छैन ।

आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको उनले स्पष्ट पारे । विद्युत प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको पनि उनले बताए ।

पोल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उनको भनाइ छ । उनले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिने र जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काममा ढिलाइ भएको उल्लेख गरे ।

उनले नागढुङ्गा–मुग्लिङ सडक खण्डको उदाहरण दिँदै भने, ‘पाँच वर्षदेखि पोल सार्ने प्रयास भइरहेको छ तर अझै १८२ वटा पोल सार्न बाँकी छ । पोल नसारिँदा निर्माण व्यवसायीले काम ढिला गर्ने बहाना पाएका छन् भने कतिपय ठाउँमा पोल बीचमा राखेरै पिच गर्नुपर्ने अवस्था सिर्जना भएको छ । समयमै पोल नसार्दा निर्माण व्यवसायीले क्षतिपूर्ति दाबी गर्छन्, जसले गर्दा राज्यले अनावश्यक रूपमा करोडौँ रुपैयाँ भुक्तानी गर्नुपर्ने अवस्था छ ।’

सडकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल जस्ता महत्वपूर्ण सडक खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताए ।

पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलोपटक नयाँ प्रविधि (एक्स्ट्राडोज) बाट निर्माण भइरहेकाले केही समय लागे पनि काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको उनले जानकारी दिए ।

सडक विस्तारमा हुने ढिलाइले सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको प्रति विभाग गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तिब्रता दिने प्रतिवद्धता उनले व्यक्त गरे ।

प्रकाशित मिति २०८३ साउन २२ गते शुक्रबार १२:१२
हजुरको प्रतिक्रिया