२०८३ असोज २३ गते शुक्रबार

ट्राफिक प्रहरीबाट नागरिकले दुःख पाएको अब सुन्न नपरोस्ः सभापति गजुरेल

ट्राफिक प्रहरीबाट नागरिकले दुःख पाएको अब सुन्न नपरोस्ः सभापति गजुरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २४ गते आइतबार ०२:३४

पोखरा । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् । आईतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय...

पोखरा ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन् ।

आईतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताएका हुन् । उनले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताए ।

कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको उनले बताए ।

संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिए ।

ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उनको भनाई छ ।

उनले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताए । राष्ट्रिय यातायात नीति २०८३ मा सुधारका विषय समेटिएकोले अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘ट्राफिक प्रहरीलाई चाहीँ मैले यति धेरै प्रसंशा गरिराखेको छु, त्यो आम नागरिकबाट पनि आउनुप¥यो । त्यो कहीँ कतै आएको छैन, धेरैजनाले ट्राफिक प्रहरीले राम्रो व्यवहार गर्नुहुन्न, राम्रो भाषा बोल्नुहुन्न, शिष्टता देखाउनुहुन्न । कति ठाउँमा त हामीले गल्ती गर्दाखेरि पैसा पनि दिएपछि उहाँहरुले हामीलाई छोड्दिनुहुन्छ भन्ने गुनासाहरु आएका छन् । अब बोलाईमा शुद्धता हुनुप¥यो, व्यवहारमा नम्रता हुनुप¥यो र आर्थिक सुशासन हुनुप¥यो । त्यो भनेको हामीले कसैसँग आर्थिक प्रलोभनमा पर्ने होइन, आर्थिक लाभ लिने होइन, यी तीनटा कुरामा हामी स्पष्ट हुनुपर्छ । यदि यी कुराहरु हामी मान्न तयार छैनौँ, बोलीमा शुद्धता ल्याउन हामी मञ्जुर छैनौँ, व्यवहारमा नम्रता ल्याउन हामी मञ्जुर छैनौँ, आर्थिक अनुशासन पालना गर्न हामीलाई मञ्जुर छैन भनेदेखि यो जागिर हाम्रो लागि होइन रहेछ भन्ने कुरा बुझ्नुभए हुन्छ । आफैँले आफैँलाई मूल्याङ्कन गर्नुपर्छ । हामीले के भनेका छौँ भने हामी हजुरहरुलाई पूर्ण रुपमा सुरक्षित बनाउने, पूर्ण रुपमा प्रविधिमैत्री बनाउने, सेवा सुविधा पनि दिने, अधिकार पनि दिने तर हजुरहरुले गर्नुपर्ने कर्तव्य, आम नागरिकलाई गर्नुपर्ने व्यवहार, त्यसमा चाहिँ सुदृढ गर्नैपर्छ । अब यो नयाँ परिवेशमा जनताहरुले आम नागरिकले परिवर्तन खोज्नुभएको समय हो । अहिले राष्ट्रिय यातायात नीति २०८३ मा पनि त्यो रिफ्लेक्सन देख्नुहुन्छ । अब त्यो हामी व्यवहारमा लागू गर्नुपर्छ । नीतिमा मात्रै आएर परिवर्तन हुँदैन, त्यसलाई हामीले लागू अवश्य पनि गर्नुपर्छ । पछिल्लो समय जुन एउटा जरिवानाको विषय आयो, एउटा ठूलो रकमको एक लाख डेढ लाखसम्मको जुन जरिवानाको कुराहरु आयो, यी कुराहरु लागू भइसकेका विषय होइनन् । यी कुराहरु अहिले हामीले छलफलमा ल्याएको विषय हो । यी कुराहरु भोलि छलफल हुन्छ, आम नागरिकसँग पनि छलफल हुन्छ, सरोकारवाला निकायसँग पनि छलफल हुन्छ र त्यसपछि हामी जरिवानाको रकम चाहिँ तोक्छौँ । धेरै नागरिकले हामीलाई जनचेतनाको कार्यक्रम छैन, कति कुरा हामीलाई थाहा हुँदैन । थाहा नहुँदाखेरि हाम्रो कति चाहीँ नियम पालना गर्न नसक्दा हामीलाई राम्रो व्यवहार गरिँदैन, राम्रोसँग बोलिँदैन, हाम्रो कुरा सुनिँदैन, चिट काटिन्छ । हामी दिनको हजार पन्ध्र सय दुई हजार कमाउने व्यक्ति हौँ तर हामीलाई जरिवाना लगाइन्छ । हामीले हाम्रो घर व्यवहार कसरी टार्ने माननीय ज्यु ? भनेर खबर गरिरहनुभएको हुन्छ । यी कुराहरु पनि हामीले कन्सिडर गर्नुपर्छ । त्यसैले हामीले नियमलाई कडाई गर्ने र जनचेतनाका कार्यक्रमहरुलाई पनि अब हामीले त्यही हिसावले अगाडि बढाउनुपर्ने जरुरत छ । काठमाडौँ लगायत अन्य ठाउँमा पनि विभिन्न कुना कन्दराबाट आम नागरिकहरु आउनुहुन्छ, उहाँहरुलाई नियमहरु थाहा हुँदैन, साँच्चै पनि थाहा हुँदैन । तर फेरि हाम्रो कानूनले के भन्छ भन्दा नियम थाहा नभएर भनेर नियम मिच्न पाइँदैन । त्यो भन्दाभन्दै गर्दा के हो त भन्दा जरिवानाको कुरा, प्रविधिमा विकास गर्ने कुरा, जनचेतनाको कुरा हामीले अगाडि बढाउनुपर्छ ।’

उनले ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भएपनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको गजुरेलले स्पष्ट पारे ।

जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने उनको भनाई छ । उनले ट्राफिक नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८३ साउन २४ गते आइतबार ०२:३४
हजुरको प्रतिक्रिया