पोखरा ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक विषयलाई सामाजिक सञ्जालमा ल्याउने वा सार्वजनिक रूपमा हस्ताक्षर संकलन गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताको संज्ञा दिएका छन् ।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गरिने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट पारे ।
अध्यक्ष ओलीले नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने लागे पार्टीका सम्बन्धित कमिटीहरूमा छलफल गर्नुपर्नेमा जोड दिए ।
पार्टीभित्र लोकतन्त्र रहेको र छलफल गर्न पाइने तर सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउन खोज्नु पार्टीको पद्धति नभएको उनले बताए । यस्तो प्रवृत्ति अनुशासनहीनता भएकाले पार्टीमा सह्य नहुने चेतावनी दिए ।
विवाह र सम्बन्ध विच्छेदको उदाहरण दिँदै अध्यक्ष ओलीले कुनैपनि सम्बन्ध वा जिम्मेवारीबाट अलग हुनका लागि निश्चित प्रक्रिया र विधि हुने उल्लेख गरे ।
विवाह जस्तो पवित्र बन्धनमा बाँधिएकाहरूले पनि पछि चित्त नबुझे विधिपूर्वक सम्बन्ध विच्छेद गर्न पाउने बताउँदै पार्टीमा पनि कसैलाई केही कुरा मन परेन भने छोड्ने वा परिवर्तन गर्ने अधिकार रहेको जिकिर गरे । तर त्यसको एउटा मर्यादा र विधि हुने उनको भनाइ छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टीको विचार र सिद्धान्त बोक्नुपर्ने बताउँदै उनले आन्तरिक विषयलाई बजारमा लगेर तमासा देखाउनु र विरोधीलाई हँसाउनु गलत भएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले भने, ‘पार्टीको विषय हाम्रो आन्तरिक विषय हो । अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्छ भने पार्टीका सम्बन्धित कमिटीमा छलफल गर्नुपर्छ । सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउने शैली पार्टीमा स्वीकार्य हुँदैन । त्यो अनुशासनहीनता र अराजकता हो । पार्टीभित्र लोकतन्त्र छ । कसैलाई नेतृत्वको विचार वा कामप्रति असहमति छ भने खुला रूपमा आन्तरिक छलफल गर्न पाइन्छ । तर पार्टीको सदस्य भएर बाहिर बजारमा तमासा गर्ने, विरोधीलाई हँसाउने र पार्टीलाई कमजोर बनाउने काम उचित होइन । विचार मिलेन भने पार्टीको विधि–विधानअनुसार छलफल र निर्णयको बाटो अपनाउनुपर्छ । हामी अराजक र अनुशासनहीन होइनौँ। पार्टीको नीति, विधि र विधानभित्र रहेर अघि बढ्नुपर्छ । म कुनै व्यक्तिलाई होइन, गलत प्रवृत्तिलाई भनिरहेको छु । आलोचना गर्न सबैलाई अधिकार छ, म आलोचना सुन्न तयार छु । पार्टीमा कमी–कमजोरी छन् भने सच्याउनुपर्छ, गल्ती छन् भने हटाउनुपर्छ । विशेषगरी नेतृत्व तहमा गलत आचरण र व्यवहार स्वीकार्य हुँदैन ।’
आफू व्यक्तिगत रूपमा कसैको आलोचना नगरेर गलत प्रवृत्तिको विरुद्धमा रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पार्टी अध्यक्षको हैसियतमा आफू जुनसुकै आलोचना सुन्न तयार रहेको बताए ।
कमी–कमजोरी भए सच्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले विशेषगरी माथिल्लो तहका नेताहरूले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
एमाले कायर पार्टी होइन, नेतृत्व परिवर्तनको हल्ला निराधार छ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको उल्लेख गर्दै उच्च मनोबलका साथ एकजुट हुन कार्यकर्ताहरूलाई आह्वान गरे । अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै कार्यकर्तामा निहित रहेको बताए ।
पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले संकटका बेला एक–अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गरे ।
केही पक्षबाट नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भलाई केन्द्रित गर्दै अध्यक्ष ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिए । उनले कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गरे ।
उनले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले दुईवटा मुख्य लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । उनकाअनुसार देशमा देखिएको प्रतिगमनलाई सच्याएर लोकतन्त्रको रक्षा गर्नु र शान्ति सुव्यवस्था कायम गर्दै विकासको अभियानलाई अघि बढाउनु एमालेको प्राथमिकता हो ।
अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले कायर पार्टी होइन । पार्टी भनेको तपाईं–हामी नै हौँ । तपाईं–हामीलाई अलग गरिदियो भने पार्टीमा केही बाँकी रहन्छ र ? तपाईं–हामी नै पार्टी हौँ । त्यसैले पहिले हामीले आफ्नो मनोबल उच्च बनाउनुपर्छ । यस्तो बेलामा पार्टी फुटेर, कोही यता फर्केर, कोही उता फर्केर, एकले अर्काको खुट्टा तान्न थालेर हामी विरोधीसँग लड्न सक्छौँ र ? हामी एकतावद्ध हुनुपर्छ । केही मान्छेले अध्यक्ष हटाउनुपर्छ भनेर भन्दैछन् भन्ने सुन्छु । यस्तो बेलामा अरू केही नपाएर अध्यक्ष हटाऊ भन्न थाल्ने ? कहाँबाट हटाउने अध्यक्ष ? कसले हटाउने ? कार्यकर्ता पंक्ति नै अध्यक्ष हटाउन तयार छैन भने कसरी हटाउने ? त्यस्तो नहुने कुराको पछाडि लाग्नु बेकार छ । हामी कोही पनि त्यस्ता कुरामा लाग्नु जरुरी छैन। अहिले हामी एकताबद्ध भएर प्रतिक्रियावादी शक्तिविरुद्ध लड्नुपर्छ । मुख्य रूपमा हामीले दुईवटा कुराका लागि तयारी गर्नुपर्छ । पहिलो, देशमा भएको प्रतिगमन सच्याउनुपर्छ । लोकतन्त्र र शान्ति–सुव्यवस्था पुनःस्थापित गर्नुपर्छ, विकासको अभियानलाई अगाडि बढाउनुपर्छ, राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशलाई अगाडि बढाउनुपर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ११:३५




