२०८३ असोज २३ गते शुक्रबार

सरकार प्रचारमुखी मात्रै भयो, नतिजा शुन्य छः सांसद नारायणदत्त मिश्र

सरकार प्रचारमुखी मात्रै भयो, नतिजा शुन्य छः सांसद नारायणदत्त मिश्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १ गते सोमबार ०२:३८

पोखरा । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा...

पोखरा ।

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले वर्तमान सरकार परिणाममुखी हुनुको सट्टा प्रचारमुखी मात्र भएको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मिश्रले सरकारले जनतालाई आशाभन्दा पनि ठोस परिणाम दिनुपर्नेमा जोड दिएका हुन् ।

सरकारले जनताका आधारभुत आवश्यकता, सुशासन र रोजगारीको पहिचान गर्नुको सट्टा केवल प्रचारको पहिचान गरिरहेको उनको तर्क छ ।

मिश्रले छिमेकी मुलुकहरू र अन्य एशियाली राष्ट्रहरूको आर्थिक विकासको उदाहरण प्रश्तुत गर्दै नेपालको पछौटेपनप्रति चिन्ता व्यक्त गरे ।

सन् १९५० को दशकमा नेपालको आर्थिक अवस्था दक्षिण कोरिया, थाइल्याण्ड र मलेसियाको हाराहारीमा भएपनि हाल ती मुलुकहरू विश्वकै समृद्ध राष्ट्रमा गनिन सफल भएको उनले उल्लेख गरे ।

सांसद मिश्रले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै भने, ‘यदि कसैले यो सरकारको सबैभन्दा ठूलो उपलब्धि के हो भनेर सोध्यो भने मेरो जवाफ प्रचार हुनेछ र असफलता कहाँ छ भन्यो भने त्यसको उत्तर परिणाम’ हुनेछ । भारत र चीनले आर्थिक क्षेत्रमा अभूतपूर्व फड्को मारिसकेका छन् । बंगलादेश, भूटान र श्रीलंकाले समेत विभिन्न संकटका बाबजुद प्रगति गरिरहेका छन् । तर नेपाल भने आज आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाएर खाद्यान्न आयात गर्ने अवस्थामा पुगेको छ ।’

स्वदेशमा रोजगारीको अभावमा युवाहरू खाडी मुलुक पलायन भइरहेको र विमानस्थलको दृश्यले सरकारको रोजगारी दिने नारालाई गिज्याइरहेको उनले टिप्पणी गरे ।

गाउँघर युवाविहीन भएको र विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको प्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ०२:३८
हजुरको प्रतिक्रिया