२०८३ असोज २३ गते शुक्रबार

सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’

सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २ गते मंगलबार ०२:०२

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि...

काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपदका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिइन् । उनले मान्छेको अमूल्य ज्यानलाई केवल अंकमा मात्र सीमित राखिएको भन्दै चिन्ता समेत व्यक्त गरिन् । सांसद धितालले रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गरिन् । केही महिनाअघि भएको जीप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराउँदै उनले रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गरिन् । परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उनको तर्क छ ।

विगतको सशस्त्र युद्धको गहिरो प्रभाव (ट्रमा) बाट गुज्रिरहेका रोल्पालीहरूका लागि थबाङ जस्तो ऐतिहासिक ठाउँ ‘वार म्युजियम’ बन्नुपर्नेमा, आज त्यहाँका नागरिकहरू वर्षाको समयमा ज्यान जोगाउनै मुस्किल पर्ने स्थितिमा रहेको उनले बताइन् । सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै उनले विपद आएपछि राहत बाँड्ने परम्पराभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग गरिन् ।

प्रकाशित मिति २०८३ भदौ २ गते मंगलबार ०२:०२
हजुरको प्रतिक्रिया