२०८३ असोज २३ गते शुक्रबार

विगत ३५ वर्षको उपलब्धि रक्षा गर्दै वर्तमान बेथिति सुधार्न सांसद पोर्तेलको आग्रह

विगत ३५ वर्षको उपलब्धि रक्षा गर्दै वर्तमान बेथिति सुधार्न सांसद पोर्तेलको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ३ गते बुधबार ०३:४३

पोखरा । राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र पछिल्लो समय सिर्जित राजनीतिक भाष्यमाथि टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद पोर्तेलले विगत साढे तीन दशकमा मुलुकले...

पोखरा ।

राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र पछिल्लो समय सिर्जित राजनीतिक भाष्यमाथि टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद पोर्तेलले विगत साढे तीन दशकमा मुलुकले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्दै वर्तमान सरकारले ‘प्याराडाइम सिफ्ट’ का नाममा जनतामाथि थोपरेको आर्थिक भार र बेथितिको आलोचना गरे ।

सांसद पोर्तेलले विगत ३५ वर्षमा केही पनि भएन भनी चलाइएको भ्रमलाई तथ्यगत रूपमा खण्डन गरे । २०४७ सालको तुलनामा मुलुकले सडक, विद्युत, स्वास्थ्य र शिक्षामा ठूलो फड्को मारेको उनको दाबी छ ।

नेपालीको औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुग्नु, साक्षरता दर ३९ प्रतिशतबाट ७७ प्रतिशत पुग्नु र स्वास्थ्य बीमा जस्ता कार्यक्रम कार्यान्वयन हुनु विगतकै सरकारहरूको दूरदर्शिताको परिणाम भएको उनले उल्लेख गरे ।

उनले भने, ‘२०४७ सालमा नेपालमा ८ हजार किलोमिटर मात्र सडक रहेकोमा अहिले १ लाख ४ हजार किलोमिटर पुगेको छ । २२७ मेगावाट विद्युत उत्पादन हुने गरेकोमा हाल ४१०० मेगावाट पुगेको छ । विगतमा खाद्यान्न निर्यात गर्दा जनता भोकै मर्थे, तर आज उत्पादन दोब्बरभन्दा बढी बढेको छ र भोकमरीको अन्त्य भएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ । यहाँ स्वरोजगार हुन खोज्ने राइड सेयरिङ गर्ने युवामाथि भ्याट थोपरिएको छ । सरकारको आलोचना गरेकै भरमा युवाहरूलाई पक्राउ गरी जेल हालिनु र मन्त्रीहरूले भोट फिर्ता लैजाऊ भन्नु के प्याराडाइम सिफ्ट हो ?’

वर्तमान सरकारले प्रयोग गर्ने ‘प्याराडाइम सिफ्ट’ शब्दमाथि प्रश्न उठाउँदै सांसद पोर्तेलले बढ्दो मूल्यवृद्धि, व्यापार घाटा र युवा पलायनलाई नै सरकारले उपलब्धि मानेको हो भनी जिज्ञासा राखे ।

गत साउनको तुलनामा यस वर्ष मूल्यवृद्धि र व्यापार घाटा उल्लेख्य बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । सांसद पोर्तेलले आम नागरिकले ग्यास र दैनिक उपभोग्य वस्तुको अभाव झेलिरहेको कुरा सदनमा राखे ।

इण्डक्सन चुलो र बिजुलीको महसुलका कारण मध्यम वर्ग मारमा परेको उल्लेख गर्दै उनले सरकारले जनताको आधारभुत समस्या समाधान गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति २०८३ भदौ ३ गते बुधबार ०३:४३
हजुरको प्रतिक्रिया