२०८३ असोज २३ गते शुक्रबार

राष्ट्रिय सभाको शुन्य समयः बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कडा कारबाहीसम्मका माग

राष्ट्रिय सभाको शुन्य समयः बाढी–पहिरो पीडितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कडा कारबाहीसम्मका माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ५ गते शुक्रबार ०३:१२

पोखरा । सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक र प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बसेको बैठकको शुन्य समयमा बैठकमा बोल्दै सांसदहरुले बाढी–पहिरो पीडितलाई राहत,...

पोखरा ।

सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक र प्राकृतिक विपत्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बसेको बैठकको शुन्य समयमा बैठकमा बोल्दै सांसदहरुले बाढी–पहिरो पीडितलाई राहत, बालिका हत्याका दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने र सुशासनका सवालहरू उठाएका हुन् ।

सांसद कृष्णबहादुर रोकायले जाजरकोट, रोल्पा र बाजुरासहित देशभर बाढी–पहिरोका कारण ६७ जनाको मृत्यु भएको तथ्याङ्क प्रश्तुत गर्दै रुकुमको मुसिकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गरे ।

सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोका कारण १४ जनाको मृत्यु भएको र १० घर विस्थापित भएको १० दिन बितिसक्दा पनि सरकारले राहत पु¥याउन नसकेको भन्दै आलोचना गरे ।

उनले मन्त्रीहरूका लागि हेलिकोप्टर उपलब्ध हुने तर नागरिकका लागि किन नहुने भनी प्रश्न गरे । बैठकमा बाराको जितपुर सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ ।

सांसदहरू पूजा चौधरी, रेणु चन्द र विष्णुदेवी पुडासैनीले उक्त जघन्य अपराधको भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा सजाय दिन माग गरिन् । सांसद चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारुकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाइन् ।

सांसद पुडासैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कडा कानून निर्माण गर्न सदनको ध्यानाकर्षण गराइन् ।

सांसद घनश्याम रिजालले जातकै आधारमा कोठाबाट निकालिएकी दीपा नेपाली लामो समयदेखि सत्याग्रहमा रहँदा पनि सरकारले संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले यसलाई सिङ्गो दलित समुदायमाथिको अपमानको रूपमा अथ्र्याए ।

सांसद पदमबहादुर परियारले आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको र उल्टै मृतकलाई नै दोषी देखाउन खोजिएको भन्दै आपत्ति जनाए । उनले नेपालीलाई सहिद घोषणा गर्न र सम्झौता पालना गर्न माग गरे ।

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूले दर्जनौँ स्वकीय सचिव र सल्लाहकार राखेर राज्यको स्रोत दुरुपयोग गरिरहेको आरोप लगाए । उनले सचिवालयको संख्या कटौती गरी एक जना मात्र स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग गरे ।

सांसद रुक्मिणी कोइरालाले बजेट र योजना कागजमा मात्र सिमित भएको भन्दै जनताको जीवनस्तरमा परिवर्तन आउने गरी काम गर्न सरकारलाई सुझाव दिइन् ।

सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा ज्यान गुमाएका पर्वतका नारायण सार्कीको शव स्वदेश ल्याउन र परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरिन् ।

बैठकमा सांसदहरूले जापानी इन्सेफलाइटिस जस्ता स्वास्थ्य समस्या र नागरिकका आधारभूत आवश्यकताका विषयमा समेत सरकार सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति २०८३ भदौ ५ गते शुक्रबार ०३:१२
हजुरको प्रतिक्रिया