२०८३ असोज २३ गते शुक्रबार

गण्डकी सरकारबाट एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने

गण्डकी सरकारबाट एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ९ गते मंगलबार १०:०४

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ । केहीबेरअघि बसेको पार्टीको संसदीय बोर्ड बैठकले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । एमाले गण्डकी...

पोखरा ।

नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ । केहीबेरअघि बसेको पार्टीको संसदीय बोर्ड बैठकले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

एमाले गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक देवका पहारीले संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सामूहिक रूपमा राजीनामा दिन निर्देशन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमै छौँ ।’

राष्ट्रिय स्तरमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यको राजनीतिक परिस्थिति बनेसँगै त्यसको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको हो । सोही राजनीतिक समीकरणका कारण एमाले सरकारबाट बाहिरिन लागेको बताइएको छ ।

गण्डकी प्रदेश सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् । गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री छन् भने यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री छन् । त्यसैगरी भीम कार्की कृषि मन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा छन् ।

एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाएसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा नयाँ परिस्थिति बन्ने देखिएको छ । एमालेले सरकारबाट बाहिरिएपछि प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र सत्ता सञ्चालनबारे थप छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार १०:०४
हजुरको प्रतिक्रिया