पोखरा ।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।
बाढीले पु¥याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । नदी तटीय क्षेत्रका जनतालाई सचेत रहन आग्रह गरिएको छ ।
बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ । रसुवा जिल्लामा आज बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पु¥याएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै घरहरू बगाएको छ । त्यहाँ ५–७ वटा घर मात्र बाँकी छ भन्ने प्रारम्भिक सूचना आएको छ ।
भोटेकोशी बाढीका कारण रसुवा जिल्लामा अकल्पनीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।
प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कमा छैनन् । टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको उनले बताए ।
स्याफ्रुबेँसीमा ९ सहित रसुवागढी र मैलुङका प्रहरी पनि सम्पर्कमा नआएको उनले बताए ।
बाढीले प्रहरी कार्यालयमात्रै बगायो कि कर्मचारी पनि प्रभावित छन् भन्ने यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।
यता, बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्दै रसुवाको भोटेकोसी नदीमा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउदासम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पु¥याएको छ । बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ ।
यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन् । विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको छ ।
बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पु¥याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ ।
क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ । बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।
साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ । रसुवामा यसअघि पनि बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो ।
पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि उत्पादनदेखि प्रसारण र वितरणसम्मको विद्युत प्रणाली प्रभावित हुने जोखिम बढेको छ ।
प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ११:४३




