२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढी : घाइते २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगियो

रसुवा बाढी : घाइते २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०२:३६

पोखरा । रसुवामा तिब्बतबाट आएको बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ । उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका २४ जना उपचारका...

पोखरा ।

रसुवामा तिब्बतबाट आएको बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल लगिएको छ ।

उपचाररत घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाले बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि अस्पताल आइपुगेको बताए । उनले एक जना घाइतेको मृत्यु भएको पुष्टि गरे ।

थापाका अनुसार घाइतेमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ । ६ जना गम्भीर अवस्थाका बिरामीलाई भने अस्पतालले रेफर गरेको छ ।

बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी रहेकाले अस्पतालले उपचार र उद्धारका लागि आफ्नो उपलब्ध जनशक्ति तथा स्रोतसाधन परिचालन गरिरहेको छ ।

हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार भइरहेको थापाले बताए । अस्पतालमा स्वास्थ्यकर्मीका साथै जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् ।

उद्धार तथा उपचार व्यवस्थापनमा उपलब्ध जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरिएको अस्पतालले जनाएको छ ।

प्रभावित क्षेत्रबाट थप घाइते आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् ।

तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानकारीमा आएको हो ।

कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए । बाढीले क्षति पु¥याएको क्षेत्रमा जान सकिने अवस्था छैन ।

फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पु¥याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०२:३६
हजुरको प्रतिक्रिया