२०८३ असोज २३ गते शुक्रबार

विपद् न्युनिकरणको लागि अन्तरदेशीय पूर्वसूचना प्रणाली बनाउनु अनिवार्य

विपद् न्युनिकरणको लागि अन्तरदेशीय पूर्वसूचना प्रणाली बनाउनु अनिवार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०५:०८

पोखरा । हिमाली क्षेत्रमा सीमापार (माथिल्लो तटीय क्षेत्र) बाट आउने बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘अन्तरदेशीय पूर्वसूचना प्रणाली’ तत्काल स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । न्युज एजेन्सी नेपालसँग...

पोखरा ।

हिमाली क्षेत्रमा सीमापार (माथिल्लो तटीय क्षेत्र) बाट आउने बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘अन्तरदेशीय पूर्वसूचना प्रणाली’ तत्काल स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै जलवायुजन्य जोखिम न्युनिकरण विज्ञ उज्वल उपाध्यायले विपद् आउनुपूर्वको एक मिनेटको सूचनाले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिने भन्दै तत्काल अन्तरदेशीय सूचना आदानप्रदान संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

रसुवा बाढी दुर्घटनामा पूर्वसूचना भएको भए मानविय क्षति कम गर्न साथै सुन्यमा झार्न सकिने अवस्था रहेको बताए । उच्चहिमालमा पानी परेको वा हिउँ पहिरो गएको वा हिमताल फुट्ने जोखिम रहेको जस्ता सूचना चिनियाँ पक्ष सँग मात्र हुने भएकोले पूर्वतयारी गर्न नसकिएको बताए ।

यदि सूचना आदानप्रदान गर्न सक्ने संयन्त्र बनेको भए क्षति कम गर्न असकने धेरै सम्भावना हुने बताए । हिन्दुकुश काराकोरम हिमालय क्षेत्रका मुलुकहरूमा लामो समयदेखि यस्तो पूर्वसूचना प्रणाली स्थापनाको बहस भइरहे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञ उपाध्यायले बताए ।

माथिल्लो तटीय क्षेत्र (जस्तैः तिब्बत) मा ठूलो वर्षा हुँदा वा हिमताल विस्फोट हुँदा त्यसको प्रत्यक्ष र भयानक असर कयौँ माइल तल (नेपालतर्फ) पर्ने गरेको छ । माथि सानो–ठूलो घटना हुनेबित्तिकैको सूचना दिन तल्लो क्षेत्रका नागरिकलाई सुरक्षित गर्न साझा सूचना केन्द्र (इन्फर्मेसन प्लेटफर्म) को अभाव रहेको उनको भनाइ छ ।

समयमै सूचना आदानप्रदान हुनसके क्षति कसरी घटाउन सकिन्छ भन्ने प्रस्ट पार्दै उपाध्यायले भने, ‘एक मिनेट मात्रै अगाडि सूचना पुग्यो भने कम्तीमा मानिसको ज्यान जोगाउन सकिन्छ । दुई मिनेट अगाडि जानकारी पाए ज्यानसँगै नगद र गरगहना जोगाउन सकिन्छ भने एक घण्टा अगाडि सूचना पाए घरका बहुमूल्य सामानहरू सुरक्षित स्थानमा सार्न सकिन्छ ।’

बाढीले ठूलाठूला पूर्वाधार र घरै बगाए पनि मानवीय र अन्य महत्वपूर्ण क्षति रोक्न पूर्वसूचना प्रणाली प्रभावकारी हुने उनले बताए । दुई वा दुईभन्दा बढी देशबीचको मामिला भएकाले कूटनीतिक र प्राविधिक चुनौतीहरूका कारण यो प्रणालीले पूर्ण गति लिन नसकेको स्वीकार गर्दै उनले बढ्दो जलवायु जोखिमलाई मध्यनजर गर्दै क्षेत्रीय तहमा सहकार्य गर्नुको विकल्प नभएको बताए ।

अन्तरदेशीय सहकार्य भएमा मात्र सीमापार विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने उनको निष्कर्ष छ ।

जलवायु न्याय र क्षतिपूर्तिको माग

नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा ठूलो मार खेप्नुपरेको भन्दै विज्ञ उपाध्यायले अन्तर्राष्ट्रिय मञ्चहरूमा यस विषयलाई नेपालले जोडदार रूपमा उठाउनुपर्ने बताए ।

जलवायुजन्य विपद्बाट हुने हानि–नोक्सानीको भरपाइका लागि अन्तर्राष्ट्रिय ‘हानि तथा नोक्शानी कोष’ बाट नेपालले अनिवार्य रूपमा न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने माग समेत उनले बताए ।

रसुवागढीको बाढी र यसका कारणहरू

बुधबार बिहान रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको मुख्य कारण सीमापार (तिब्बत क्षेत्र) को हिमताल विस्फोटन वा भारी वर्षापछिको ठूलो पहिरोले नदी थुनेर फुटेको हुनसक्ने विज्ञ उपाध्यायले बताए ।

सिसापाङ्मा हिमाल आसपासको क्षेत्रबाट लेदो र ठुलठुला ढुङ्गा (बोल्डर) सहित आएको यो बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

विज्ञ उपाध्यायकाअनुसार भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो सिरान (नेपाल–चीन सीमाबाट करिब १२ देखि १५ किलोमिटर उत्तर) मा रहेका जोखिमयुक्त हिमतालहरूमध्ये कुनै ताल विस्फोट भएको वा भीषण वर्षाका कारण गएको हिमपहिरोले नदी केही समय थुनेर अचानक बाँध फुट्दा ‘हिमालयन सुनामी’को रूपमा बाढी तल झरेको अनुमान गरिएको छ ।

बाढी यति भयानक हुनुका कारणहरूः

भौगोलिक बनावट र तीव्र गतिः ८ हजार मिटरभन्दा अग्लो सिसापाङ्मा क्षेत्रबाट पानी ठाडो र भिरालो भूभाग हुँदै तल झरेकाले यसको गति र ‘मोमेन्टम’ अत्यधिक थियो ।

लेदो र ढुङ्गाको मात्राः बाढीमा पानीभन्दा बढी आधा पग्लिएको हिउँ, ठुलठुला बोल्डर र माटो मिसिएकाले यसले बाटोमा आएका संरचनालाई भत्काउँदै ठूलो क्षति पु¥याएको छ ।

जलवायु परिवर्तनको प्रभावः विश्वव्यापी तापक्रम वृद्धि, हिमाली क्षेत्रको द्रुत गतिको तापक्रम र यस वर्षको ‘एल निनो’ प्रभावका कारण उच्च हिमाली भेगमा हिउँ पग्लने र अत्यधिक वर्षा हुने क्रम बढेको छ ।

विभिन्न अध्ययनहरूलाई उद्धृत गर्दै विज्ञ उपाध्यायले नेपालको हिमाली क्षेत्र तथा नदी प्रणालीका सिरानमा रहेका करिव ४७ देखि ५० वटा हिमतालहरू उच्च जोखिममा रहेको जानकारी दिए ।

सामान्यतया जेठदेखि भदौ महिनासम्म गर्मी र वर्षाका कारण हिउँको प्राकृतिक बाँध पग्लिने हुँदा यस्ता विपद् बढी दोहोरिने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०५:०८
हजुरको प्रतिक्रिया