२०८३ असोज २३ गते शुक्रबार

टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः प्रधानमन्त्री

टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १७ गते बुधबार ०२:४०

पोखरा । प्रधानमन्त्री बालेन्द्र साहले १० भदौको भोटेकोशी बाढीमा परि टनेलमा फसेका नागरिकको उद्धारमा कठिनाई भइरहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले...

पोखरा ।

प्रधानमन्त्री बालेन्द्र साहले १० भदौको भोटेकोशी बाढीमा परि टनेलमा फसेका नागरिकको उद्धारमा कठिनाई भइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले टनेल भित्रसम्मै बाढी पसेको कारण टनेल खुलाउन समस्या भइरहेको बताएका हुन् ।

उनले जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको बताए । उनले बाढीबाट सडक तथा पुलमा व्यापक क्षति पुगेको समेत बताए ।

उनले बाढीका कारण गल्छी–बेत्रावती, रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा ठूलो क्षति पुगेको बताए ।

विदुर–बेत्रावती–मैलुङ खण्डको ४० किलोमिटर सडक पूर्णरूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको उनले बताए ।

बाढीबाट ४८ वटा झोलुंगे पुलमा क्षति पुगेकोमा २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका उल्लेख गर्दै तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया शुरु गरिएको उनको भनाइ छ ।

उनले भने, ‘जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ । बाढीका कारण गल्छी बेत्रावती, रसुवागढी, सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिन खण्डको अधिकांश भाग क्षति भएको छ । विदुर–बेत्रावती–मैलुङखण्डको ४० किलोमिटर पूर्ण रुपमा र १६ किलोमिटर आंशिक क्षति भएको थियो । पृथ्वी राजमार्गको कृष्णभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ । धादिङका अधिकांश सडकमा लेदो हटाइ सञ्चालन भइरहेको छ । बाढीका कारण ४८ वकटा झोलुंगे पुलमा क्षति भएको छ । जसमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने देखिएको छ । प्रभावित क्षेत्रका ३१ वटा मोटरेबल पुल बगेका छन् । तीमध्ये २ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया शुरु भएको छ ।’

उनले सरकार बाढी पीडितको साथमा रहेको बताउँदै खोज, उद्धार र राहत वितरणमा सरकार गम्भीर रहेको समेत बताए ।

प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०२:४०
हजुरको प्रतिक्रिया