२०८३ असोज २३ गते शुक्रबार

प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह

प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १७ गते बुधबार ०३:१६

पोखरा । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका छन्...

पोखरा ।

नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका छन् ।

उनले रसुवा बाढीको प्रलय आएको एक साता बितिसक्दा पनि प्रभावित नागरिकको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाए ।

उनले विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सबै ठिकै भइरहेको छ त सभामुख महोदय ? भन्दै प्रश्न समेत गरे ।

उनले ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै समयक्रममा यो संख्या अझै बढ्न सक्ने बताए ।

नेता आङदेम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए ।

उनले प्रभावित नागरिकको उद्धारमा शुरुदेखि नै सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि तथा दक्ष जनशक्तिसमेत प्रयोग गर्नुपर्नेमा सरकार त्यसमा चुकेको बताए ।

उनले भने, ‘बाढीको प्रलय आएको एक साता बितिसक्यो । सबै ठिकठाक भइरहेको छ त सभामुख महोदय ? जब ठिकठाक हुँदैन हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारीबाट विमुख रहेको ठहर्छ । त्यसैले यो पूर्वाग्रह होइन प्रश्न हो । म सभामुखमार्फत सत्तासिन सरकार र साथिहरुलाई आग्रह गर्न चाहान्छु, यो प्रचार गर्ने होइन, नागरिकको प्राण बचाउने समय हो । नागिरकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैंभित्र समीक्षाको विषय बनाउनुहोला । अहिले सबैभन्दा खड्किएको विषय खोज तथा उद्धारको विषय रहेको छ सभामुख महोदय । अझै पनि ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर विषय हो । शुरुदेखि नै सरकारी, निजी, आवश्यक पर्यो भने अन्तर्राष्ट्रि प्रविधि र दक्षजनशक्तिसहित उद्धारमा केन्द्रित हुनुपर्ने थियो ।’

उनले विपद्को समयमा सरकारको कामकारबाहीबारे प्रश्न उठाउनु प्रतिपक्षको पूर्वाग्रह नभई खबरदारी र जिम्मेवारी भएको समेत बताए ।  उनले विभिन्न पाँच विषयमा सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०३:१६
हजुरको प्रतिक्रिया