२०८३ असोज २३ गते शुक्रबार

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार ०३:३४

पोखरा । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर...

पोखरा ।

परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कुटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका हुन् ।

ब्रिफिङका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा विभिन्न मुलुकका राजदुत तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूलाई नेपालको वर्तमान अवस्थाबारे अवगत गराइएको थियो ।

सो अवसरमा कुटनीतिक प्रतिनिधिहरूले विपदप्रति दुःख व्यक्त गर्दै आ–आफ्ना सरकार र संस्थाका तर्फबाट ऐक्यवद्धता एवं सहयोगको प्रतिवद्धता पुनः व्यक्त गरेका छन् ।

नेपाल सरकारले हालसम्म भएका खोज, उद्धार र राहतका प्रगतिबारे जानकारी दिँदै प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।

दाता सम्मेलन आयोजना गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता क्षेत्रीले यसबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।

सम्मेलनका सम्बन्धमा हुने थप निर्णय र तयारीबारे पछि विस्तृत जानकारी गराइने उनले बताए ।

यसैगरी, चीनको केरुङ क्षेत्रमा रहेका करिव १ हजार ४ सय नेपाली नागरिकहरूको अवस्थाबारे मन्त्रालयले स्पष्ट पारेको छ । तीमध्ये करिव १ सय जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ताले जानकारी दिए ।

सामाजिक सञ्जालमा आएका कतिपय अपुष्ट खबरहरूको खण्डन गर्दै उनले भने, ‘उहाँहरू हराएर फेला पर्नुभएको होइन, कामको सिलसिलामा केरुङमा रहनुभएका नेपालीहरू बाटो अवरुद्ध भएका कारण त्यहाँ रोकिनुभएको हो ।’

मन्त्रालयकाअनुसार विपदका कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ ।

वैकल्पिक मार्ग प्रयोग गरेर भएपनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०३:३४
हजुरको प्रतिक्रिया