२०८३ असोज २३ गते शुक्रबार

हेटौँडामा यात्रु र चालकलाई निःशुल्क खाना, सडक सहज नभएसम्म अभियान जारी रहने

हेटौँडामा यात्रु र चालकलाई निःशुल्क खाना, सडक सहज नभएसम्म अभियान जारी रहने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १९ गते शुक्रबार १२:२२

पोखरा । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौंतर्फ जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा शुरु गरिएको छ । नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन...

पोखरा ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौंतर्फ जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौँडामा निःशुल्क भोजन सेवा शुरु गरिएको छ ।

नागरिक समाज मकवानपुरको पहल तथा हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा बिहीबारदेखि हेटौँडा–१ स्थित भाटभटेनी अगाडि निःशुल्क खाना वितरण थालिएको हो ।

धादीङको कृष्णभीरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर यातायात अवरुद्ध भएपछि त्रिभूवन राजपथ र अन्य वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ ।

सडकको कमजोर अवस्था, एकतर्फी यातायात र लामो ट्राफिक जामका कारण यात्रु तथा चालक घण्टौँसम्म हेटौँडामा रोकिनुपर्ने अवस्था सिर्जना भएपछि राहतस्वरूप भोजन सेवा सञ्चालन गरिएको नागरिक समाज मकवानपुरले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गतको खाद्य तथा स्वच्छता क्लस्टर र नागरिक समाजबीच भएको छलफलपछि अभियान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ,

उनकाअनुसार सडकको अवस्था सामान्य भई सवारी आवागमन सहज नहुँदासम्म अभियानलाई निरन्तरता दिइनेछ । दैनिक दुई चरणमा खाना वितरण गर्ने तयारी गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म खाना उपलब्ध गराइनेछ ।

अभियानमार्फत दैनिक करिव ४ सयदेखि ५ सय जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ ।

स्थानीय रमिला सापकोटाले सडक अवरुद्ध भएकाले त्रिभूवन राजपथ हुँदै काठमाडौं जाने यात्रुलाई बाटोमा खाना नपाइनसक्ने भएकाले हेटौँडामा खान खुवाएर पठाउने काम शुरु गरिएको बताइन् ।

पैसा हुँदा पनि खान नपाउने परिस्थिति रहेकाले सहजताका लागि कदम चालिएको बताइन् । लामो दूरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका सवारीसाधनका चालक र बाढी प्रभावित क्षेत्रबाट आएका विपन्न यात्रुलाई प्राथमिकतामा राखिएको नागरिक समाजकी रमिला सापकोटाले बताइन् ।

अभियानलाई आगामी दिनमा हेटौँडाका विभिन्न सामाजिक संघसंस्था तथा सहयोगी समूहको सहभागितामा निरन्तरता दिने तयारी छ । विभिन्न संस्थाले आलोपालो गरी खाना पकाउने र वितरण गर्ने जिम्मेवारी लिने व्यवस्था गरिएको छ ।

निःशुल्क भोजन पाएपछि यात्रु तथा चालकहरूले अभियानलाई समयसापेक्ष र मानवीय पहलका रूपमा लिएका छन् । लामो समयसम्म सडकमा रोकिँदा खानाको समस्या झेलिरहेका यात्रुहरूका लागि यसबाट तत्काल राहत मिलेको उनीहरूको भनाइ छ ।

पृथ्वी राजमार्ग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै त्रिभुवन राजपथ र कान्ति लोकपथबाट काठमाडौं जाने सवारीसाधनको चाप हेटौँडामा उल्लेख्य रूपमा बढेको छ ।

दैनिक उपभोग्य सामग्री, इन्धन तथा अन्य सामान बोकेका ढुवानीका सवारीसाधनसँगै यात्रुवाहक बससमेत यही मार्गबाट सञ्चालन भइरहेकाले हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक सडकहरूमा यातायातको चाप बढेको हो ।

प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार १२:२२
हजुरको प्रतिक्रिया