२०८३ असोज २३ गते शुक्रबार

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

विपद्को समयमा एआईमार्फत ‘स्टन्ट’ नगर्न अध्यक्ष ओलीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १९ गते शुक्रबार १२:३१

पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गरेका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय...

पोखरा ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम तस्बिरको सहारा लिएर सस्तो लोकप्रियता कमाउन खोज्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने कार्यमा हुनुपर्नेमा जोड दिए बाढीपहिरोका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पु¥याउनेतर्फ लाग्नुपर्छ । कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो। कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’

अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार १२:३१
हजुरको प्रतिक्रिया