२०८३ असोज २३ गते शुक्रबार

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमाः नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमाः नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २० गते शनिबार ०२:३८

पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको...

पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा सडक खन्ने काम शुरु गरेको हो ।

शनिबारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । शुक्रबार राति न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिए ।

उनले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए ।

यात्राहरुलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रुपमा भएपनि सडक राम्रो बनाउने काममा आफूहरु लागेको स्पष्ट पारे ।

विपद्को घडीमा राज्यलाई सघाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताए ।

उनले भने, ‘हामी अहोरात्र खटेर काम गरिरहेका छौँ । कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै हाम्रो बाँकी रहेको छ । रातिको समयमा पनि प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरु खटिनुभएको छ । आफ्नो ज्यानको बाजी लगाउनुभएको छ । यस्तो दुःखद् घडीमा नागरिकलाई सहजता प्रदान गर्नुपर्छ भनेर बाटो खन्ने काम गरिरहेका छौँ । ट्रयाक छिटो सकेर (शनिवारसम्म) व्यवस्थित रुपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ । यात्राहरुलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दछु । आत्तिएर बनाउने तर दुई दिन बन्द हुने हुनु हुँदैन । अस्थायी रुपमा भएपनि राम्रो बनाउने काममा हामी लागेका छौँ । हामी २४ सै घण्टा बाटो खुलाउन लागिरहेका छौँ । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी हो ।’

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो । जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ ।

सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरु आयात गर्न पनि असहज भएको छ ।

प्रकाशित मिति २०८३ भदौ २० गते शनिबार ०२:३८
हजुरको प्रतिक्रिया