कसकाे मतभार कति ? हेर्नुहोस्
पोखरा । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले कांग्रेस, माओवादी, जसपा, नेकपा समाजवादी र जनमोर्चाको गठबन्धनसंग एक्लै प्रतिष्पर्धा गर्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनको लागि मनोनयन आज हुँदैछ ।
राष्ट्रियसभाका बहालवाला सदस्य बागलुङका दिनानाथ शर्मा र शान्तिकुमारी जिसि तथा स्याङ्जाका खिम कुमार विकको चारवर्षे कार्यकाल सकिएका कारण चुनाव हुन लागेको हो । निर्वाचन अन्य, दलित र महिलासहित तीन क्लसटरमा हुनेछ ।
शर्मा अन्य, जिसि महिला र विक दलित क्लस्टरबाट निर्वाचित भएका थिए । यी मध्ये शर्मा र विक माओवादी केन्द्रबाट निर्वाचित हुन भने जिसी तत्कालीन एमालेबाट निर्वाचित भए पनि पछि नेकपा समाजवादी प्रवेश गरेकी थिइन् ।
माओवादीका दुई र समाजवादीका एक सदस्यको पद रिक्त भए पनि अहिले भने कांग्रेस र माओवादीले आफ्ना उमेदवार गठबन्धनबाट उठाउने भएका छन् ।
सत्तारुढ कांग्रेसले महिला क्लस्टरबाट गोरखाकी कमला पन्त, माओवादी केन्द्रले अन्यबाट सुरेश आलेमगर र दलितबाट भुवन सुनारलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले अन्यमा कास्कीका पुण्यप्रसाद पौडेललाई उमेदवार बनाएको छ भने महिला कोटामा नवलपुरकी लीला थनेतलाई टिकट दिइएको छ ।
दलित कोटामा अर्जुनकुमार सुनामले टिकट पाएका छन् । सुरुमा गोविन्दबहादुर नेपालीलाई उमेदवार बनाउने निर्णय भए पनि पछि सच्याएर अर्जुनको नाम राखिएको हो । यहाँ एमाले एक्लै चुनाव लड्दै छ ।
राष्ट्रिय जनमोर्चाले केन्द्रमा गठबन्धन नमिलेको भए एकल उमेदवार उठाउने सम्भावना थियो । तर, केन्द्रबाटै १ सिट जनमोर्चालाई दिइएकाले गठबन्धनभन्दा बाहिर नजाने भएको छ । जनता समाजवादी पार्टी पनि गठबन्धनमै कायम छ ।
प्रदेश सभातर्फ सबैभन्दा धेरै एमालेको मतभार छ । २७ सांसद रहेको एमालेको मतभार १ हजार २९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७२० मतभार छ । १२ सांसद रहेको माओवादीसँग ५ सय ७६ छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६ र ९६ मतभार छ ।
स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४१८ हुन्छ । ७० जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २६० छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २१६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।
नेकपा समाजवादीको भने एकजना मात्र मतदाता छन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपप्रमुख नेकपा समाजवादीकी एकमात्र मतदाता हुन् । समाजवादीसङ्ग १८ मतभार छ ।
स्वतन्त्र सांसद दीपक मनाङे गठबन्धनबाट सरकारमा सहभागी छन् ।
कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको ३ हजार १७६ मतभार हुन्छ । उक्त मत एमालेको भन्दा ६२० ले बढी हो । गठबन्धनको मत क्रस नहुने अवस्थामा एमाले उमेदवारका लागि यो चुनाव प्रतिष्ठाको चुनाव मात्र हुने निश्चित छ ।
यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो । दुई वर्ष बिताएर बिदा भएका सुरेन्द्र पाण्डे र बृन्दा रानामगरको ठाउँमा कांग्रेस भर्सेज बाम गठबन्धन थियो । दुवै पदमा गठबन्धनका उमेदवार विजयी भएका थिए ।
प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार ११:१२




